राष्ट्रपति र सातै प्रदेश प्रमुखबीच भेट : ‘प्रदेशको सफलता नै संघीयताको सफलता हो’

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशको मजबुती नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हुने स्पष्ट पारेका छन्। बुधबार शीतल निवासमा सातै प्रदेशका प्रमुखहरूसँगको भेटका क्रममा उनले पछिल्ला आन्दोलनहरूबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रदेशहरू आधारभूत अंग भएको उल्लेख गरे।

राष्ट्रपति पौडेलले भने, ‘प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ। संविधानको सम्पूर्ण कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका कानुनहरूको निर्माण र निष्कपट कार्यान्वयन आवश्यक छ।’

उनले प्रदेश प्रमुखहरूलाई केन्द्र र प्रदेशबीचको समन्वयकर्ता भन्दै संघीय प्रणालीलाई मजबुत बनाउन सक्रिय भूमिका खेल्न आग्रह गरे। ‘प्रदेश प्रमुख प्रदेशको मात्र नभई संघको प्रतिनिधि पनि हुन्। त्यसैले संघीयताको सेतुको रूपमा तपाईंहरूको भूमिका महत्त्वपूर्ण छ,’ राष्ट्रपति पौडेलले बताए।

राष्ट्रपतिले निरन्तर सम्पर्क, संवाद र समन्वय आवश्यक रहेकोमा जोड दिँदै प्रदेशहरूको संरचना मात्र होइन, चरित्रलाई जनमुखी, समावेशी र सुशासित बनाउनु आवश्यक रहेको बताए। उनले स्वस्थ अन्तर–प्रदेश प्रतिस्पर्धासँगै सहकार्य र समन्वयबाट साझा लाभ हुने धारणा व्यक्त गरे।

प्रदेशले आफ्ना मौलिकता अनुसार आन्तरिक स्रोतको अधिकतम प्रयोग गरेर विकासका नयाँ दृष्टिकोण निर्माण गर्नुपर्नेमा उनले जोड दिए। ‘मुख्य कुरा नागरिकको सम्मान, स्वाभिमान र समृद्धि हो,’ उनले भने, ‘यसमा प्रदेश प्रमुखहरूले सबै प्रदेशलाई केन्द्रित गराउने र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ।’

भेटका क्रममा सातै प्रदेशका प्रमुखहरूले आफ्नो अनुभव सुनाउँदै कानुनी अस्पष्टता, अधिकार सीमांकन र कार्यान्वयनका चुनौतीबारे जानकारी गराएका थिए। उनीहरूले ती समस्याको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गरिदिन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया