राष्ट्रपति पौडेलसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ — मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न कार्यहरू समेटिएको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ। शुक्रबार शीतल निवासमा आयोजित विशेष कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझाएका हुन्।

कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएको उल्लेख गर्दै यस्तो विविधताले देशलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो।

“देशको सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम राखी, समानता तथा सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला र सम्पदाको संरक्षण तथा विकास गर्ने राज्यको नीति हो,” राष्ट्रपति पौडेलले भन्नुभयो।

उहाँले मुस्लिम आयोगको जिम्मेवारी गहन रहेको उल्लेख गर्दै आगामी दिनहरूमा आयोगले आफ्ना दायित्वहरू अझ प्रभावकारी ढङ्गले पूरा गर्ने विश्वाससमेत व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया