राम नेपाली भूमिमा जन्मिएका हुन्, प्रचार गर्न नडराऔं : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपाली भूमिमा जन्मिएको दाबी पुनः दोहोर्याएका छन्। सोमबार काठमाडौंमा आयोजित एमालेको पर्यटन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो विचार व्यक्त गरेका हुन्।

ओलीले रामको जन्म नेपालमै भएको भए पनि त्यो विषयलाई खुलस्त प्रचार गर्न नसकिएकोमा असन्तुष्टि जनाए। “राम जन्मिएको भू–भाग नेपालमै पर्छ। सायद त्यहाँ थारु बस्ती थियो होला। तर हामी त्यो कुरा भन्न पनि डराउँछौं, प्रचार गर्न सक्दैनौं,” उनले भने।

उनका अनुसार राम र लक्ष्मणको शिक्षा–दीक्षा पनि नेपाली भूमिमै भएको हो। वाल्मीकि रामायणको प्रसंग उल्लेख गर्दै उनले भने, “कोशी नदी तरेर पश्चिमतर्फ गएको कुरा उल्लेख छ। तर त्यो बाटोबाट सिधा ताकेरै अयोध्या पुगिँदैन। त्यसैले ती भू–भागहरू नेपालमै पर्छन् भन्ने आधार छन्।”

ओलीले भगवान रामको विवाह पनि नेपालमै बसेर जनकपुर पुगेर सीतासँग भएको दाबी गरे। “यदि रामको जन्म भारतको अयोध्यामा भएको भए विवाह त्यहीँ हुने सम्भावना हुन्थ्यो। तर उहाँ यहीँबाट जनकपुर जानुभएको हो, त्यसैले उहाँ नेपाली भूमिका हुन् भन्ने मान्यता बनाउनुपर्छ,” ओलीको भनाइ थियो।

यस्तै, उनले देवी सीताको उत्पत्ति त्रिशुली र कालीगण्डकी नदीहरू मिसिएको क्षेत्रसँग जोडिएको बताए। साथै, ओलीले भगवान शिव र ऋषि विश्वमित्र पनि नेपाली भूमिसँग सम्बन्धित भएको तर्क गरे।

तपाईको प्रतिक्रिया