राजीनामा दिने तयारीमा वाग्मतीका मुख्यमन्त्री

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज राजीनामा दिने तयारी गरेका छन्। उनी आजै प्रदेश प्रमुखलाई राजीनामा बुझाएर पत्रकार सम्मेलन गर्ने तयारीमा छन्।

पार्टी सभापति शेरबहादुर देउवासँगको पटकपटकको बैठक र वाग्मती कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँसहित शनिबार भएको छलफलपछि लामा राजीनामा दिन तयार भएका हुन्।

मुख्यमन्त्री लामाले अघि बानियाँमाथि आफूलाई समन्वय नगरेको, मुख्यसचिव र सचिवहरूलाई माघदेखि काम नगर्न निर्देशन दिएको, वैशाखदेखि आफू मुख्यमन्त्री बन्ने र बजेट आफैं ल्याउने भनेर काममा अवरोध गरेको, र संसदीय दलमा आफूखुसी अविश्वास प्रस्ताव दर्ता गरेको आरोप लगाउँदै राजीनामा नदिने अडान राखेका थिए। उनी संसद्मा अल्पमतमा परे मात्रै राजीनामा दिने घोषणा गरेका थिए।

केन्द्रबाट पद छाड्न दबाब दिएपछि लामाले विपक्षीसँग विश्वासको मत माग्ने चेतावनीसमेत दिएका थिए।

तर, देउवाको पटकपटक वार्ता र सहमतिका कारण लामा राजीनामा दिन तयार भएका हुन्। बानियाँले वर्तमान सरकारले ल्याएका कार्यक्रमलाई निरन्तरता दिने र लामाले पछिल्लोपटक मन्त्रिपरिषदमा नियुक्त गरेका तीन जनालाई समावेश गर्ने विषयमा सहमति जनाएका नेताहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया