राजसंस्था फर्काउन राजावादीको बैठक, प्रचार अभियान र जनआन्दोलनको तयारी

काठमाडौँ, – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा आज राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठक बसेको छ।

आइतबारको बैठकमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायतका नेताहरू उपस्थित थिए।

बैठकले आगामी जेठ १५ गतेदेखि उपत्यकामा सुरु हुने जनआन्दोलनका लागि सबै पार्टी, संस्था र अभियानका संरचनाहरूलाई परिचालन गर्ने निर्णय गरेको छ।

त्यसैगरी, जेठ ८ गते काठमाडौँको साँखुबाट जनआन्दोलनको प्रारम्भ हुनुअघि उपत्यकामा प्रचारात्मक अभियान सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।

प्रकाशित जानकारी अनुसार, प्रचारात्मक कार्यक्रम ११ गतेसम्म सञ्चालन हुनेछ र यस कार्यक्रमको समापन भक्तपुरको चाँगुनारायणमा हुनेछ। राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार, जनआन्दोलनमा उपत्यकाबासीको सक्रिय सहभागिता सुनिश्चित गर्न घरदैलो, कोणसभा र जागरण कार्यक्रमहरूको आयोजना गर्ने निर्णय पनि गरिएको छ।

आज बिहान मात्र सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा समितिको आयोजनामा ४४ वटा दल, संस्था, समूह र अभियानको संयुक्त बैठकसमेत बसेको थियो।

तपाईको प्रतिक्रिया