राउटे मुखिया सूर्यनारायण शाहीको निधन

दैलेख, वैशाख १७ — नेपालको एकमात्र घुमन्ते–फिरन्ते समुदाय राउटेका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ।

४९ वर्षीय शाहीको अत्यधिक मदिरा सेवनका कारण सोमबार राति सुर्खेतको बराहताल गाउँपालिका–८ स्थित सोतखोला राउटे बस्तीमै निधन भएको हो।

बस्तीमा कार्यरत जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार, वैशाख १ गते नयाँ वर्षको उत्सवपछि शाहीले लगातार मदिरा सेवन गर्दै आएका थिए। खत्रीले भने, “उनी दुई/तीन दिनदेखि बिरामी थिए। उपचारका लागि लैजाने तयारी हुँदै गर्दा सोमबार साँझ निधन भयो।”

खत्रीले बाह्य व्यक्तिहरूले मुखियाको नाममा पैसा दिने चलनले पनि समस्याको कारण बढाएको बताए।

राउटे समुदायले शाहीको परम्परागत विधिअनुसार अन्त्येष्टि गरिसकेको छ। साथै, समुदायमा कसैको मृत्यु भएपछिको परम्पराअनुसार बस्ती सार्ने प्रक्रिया पनि सुरु गरिएको छ।

हाल राउटे समुदायको जनसंख्या १३५ मा झरेको छ।

तपाईको प्रतिक्रिया