राइड सेयरिङको विरोधमा रहेका यातायात व्यवसायीलाई वार्ताका लागि प्रदेश सरकारको आह्वान

गण्डकी, – गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ सेवाको वैधानिकताविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरूलाई वार्ताका लागि पुनः आह्वान गरेको छ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी व्यवसायीहरूको मागका सम्बन्धमा खुला छलफल गर्न वार्ताको पहल गरेको जानकारी दिएको हो। यसअघि बुधबार वार्ताका लागि बोलाउँदा पनि व्यवसायीहरू अनुपस्थित भएका थिए।

व्यवसायीहरूका मागबारे संवाद गर्न प्रदेश सरकारको तर्फबाट मन्त्रालयका सचिव इञ्जिनियर कमलकुमार अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ। सचिव अधिकारीले प्रदेश सरकारले ल्याएका नियमकानुनबाट कसैलाई समस्या परेको भए छलफलमार्फत समाधान गर्न सरकार सधैं तयार रहेको स्पष्ट पारे।

“यस्ता जटिल विषयको समाधान वार्ता र समन्वयबाटै सम्भव हुन्छ,” अधिकारीले भने, “अतः बन्द तथा हडतालजस्ता कार्यक्रम तत्काल स्थगित गरी वार्तामा सहभागी हुन व्यवसायीहरूलाई आग्रह गर्दछौं।”

राइड सेयरिङ सेवालाई कानुनी मान्यता दिनु सार्वजनिक यातायातमाथि अन्याय भएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र एकीकृत ट्रेड युनियन महासंघ गण्डकीलगायत आठ सङ्गठनले संयुक्त रुपमा १७ बुँदे मागपत्र सार्वजनिक गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।

व्यवसायीहरूको प्रमुख मागहरूमा निजी सवारीसाधनलाई सार्वजनिक सवारीसरह यात्रु बोक्ने अनुमति नदिनु, सार्वजनिक सवारीको आयु सीमा हटाउनु, तथा राइड सेयरिङ सेवालाई अवैध घोषणा गर्नु पर्ने लगायतका बुँदा समावेश छन्।

सार्वजनिक यातायात बन्दका कारण गण्डकी प्रदेशमा जेठ १६ गतेदेखि सर्वसाधारणले कठिनाइ भोगिरहेका छन्। त्यही विषयलाई लिएर काठमाडौंमा समेत विरोध प्रदर्शन भएको छ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा आइतबार काठमाडौंको माइतिघरदेखि बिजुलीबजारसम्म विरोध र्‍याली निकालिएको हो। सहभागीहरूले कालोपट्टी बाँधेर ‘राइड सेयरिङ खारेज गर’ भन्ने नारासहित प्रदर्शन गरेका थिए।

उनीहरूले सवारी ऐन विपरीत प्रदेश सरकारले निजी सवारीलाई यात्रु ओसारपसारको अनुमति दिने गरी नियमावली ल्याउन लागेको भन्दै आपत्ति जनाएका छन्। प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात सेवा समेत प्रभावित भएको छ।

तपाईको प्रतिक्रिया