रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीको माग

काठमाडौँ — काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र र ‘संयुक्त जनआन्दोलन समिति’ का अगुवा दुर्गा प्रसाईंसहित अन्य केही व्यक्तिहरूलाई थप म्यादको लागि अदालतमा पेश गरिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार आइतबार मिश्र, प्रसाईंलगायतलाई अदालतमा उपस्थित गराई थप हिरासत म्यादको अनुरोध गरिएको हो। उनीहरूमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ।

यसअघि वैशाख १० गते पनि २४ जना अभियुक्तहरूलाई न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पेश गरी म्याद थप गरिएको थियो। प्रहरी र सरकारी वकिलले घटनाको अनुसन्धान अझै बाँकी रहेको जनाउँदै यो चौथोपटक थप २० दिन हिरासतमा राख्न माग गरेका थिए।

प्रहरीले घटनासम्बन्धी विवरण संकलन जारी रहेको र केही व्यक्तिको बयान लिन बाँकी रहेको भन्दै म्याद थपको आवश्यकता रहेको उल्लेख गरेको छ। अदालतले भने रवीन्द्र मिश्रको म्याद थपबारे ठोस प्रमाण या कारण स्पष्ट रूपमा नखुलाइएको उल्लेख गरेको छ।

अदालतले मिश्र र प्रसाईं दुबैले स्वास्थ्य अवस्थाको आधारमा हाजिर जमानीको माग गरेका विषयलाई ध्यानमा राख्दै, आवश्यक स्वास्थ्य उपचारको प्रबन्ध गर्न समेत आदेश दिएको छ।

साथै, अबदेखि म्याद थपको माग गर्दा कस्ता प्रमाणहरू संकलन गर्न बाँकी छन् भन्नेबारे स्पष्ट विवरणसहित मात्र प्रस्तुत गर्नुपर्ने आदेश दिइएको छ। अहिलेका लागि अदालतले तीन दिनको थप म्याद दिँदै अनुसन्धान अघि बढाउन अनुमति दिएको छ।

तीनकुने घटनाको पृष्ठभूमिमा, चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्थाको समर्थनमा प्रदर्शन गरिएको थियो। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो, जसमा निजी र सरकारी सम्पत्तिमा क्षति पुगेको र दुई जनाको मृत्यु भएको जनाइएको छ।

जिल्ला प्रहरी परिसरले अदालतको निर्देशनअनुसार अनुसन्धान प्रक्रिया अघि बढाइने जनाएको छ।

तपाईको प्रतिक्रिया