रवीन्द्र मिश्रमाथि प्रहरी दुर्व्यवहार गरिएको आरोप, सांसद मनीष झाको संसदमा ध्यानाकर्षण

काठमाडौं, वैशाख १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद झाले मिश्रको विचार र धारणा आफूलाई स्वीकार्य नहुन सक्ने जनाउँदै पनि, राज्यले विपक्षी विचार राख्ने व्यक्तिहरूमाथि दुर्व्यवहार गर्नु अस्वीकार्य भएको स्पष्ट पारे।

‘व्यक्तिगत रूपमा उनको (मिश्रको) विचार र शैलीमा असहमति छ,’ उनले भने, ‘तर, राज्यले उनीहरूमाथि गरिरहेको व्यवहार ठीक होइन।’

झाले रास्वपाका सभापति रवि लामिछानेमाथि पनि राज्यले प्रतिशोध लिएको आरोप लगाउँदै, प्रधानमन्त्री स्वयंले त्यो स्वीकार गरिसकेको उल्लेख गरे।

सांसद झाले सरकारलाई कानूनभन्दा बाहिर जान नहुने चेतावनी दिँदै, विचारको प्रतिवाद विचारले गरिनु पर्ने धारणा अघि सारे।

तपाईको प्रतिक्रिया