रवि लामिछाने र छविलाल जोशीले दायर गरेको रिट निवेदन सोमबार पनि सुनुवाइ हुन सकेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले दायर गरेको रिट निवेदनमा सोमबार पनि सुनुवाइ हुन सकेन । लगातार दोस्रो दिन पनि मुद्दा हेर्न नमिल्ने (बञ्च) इजलासमा परेको हो ।

आइतबार न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा मुद्दा परे पनि न्यायाधीश पोखरेलले लामिछाने पक्षबाट अघिपछि वकालत गरिसकेका कारण आफूले मुद्दा हेर्न नमिल्ने जानकारी गराएका थिए ।

सोही दिन इजलासले सर्वोच्च अदालत प्रशासनलाई अर्को सुनुवाइ योग्य इजलास तोक्न निर्देशन दिएको थियो । त्यसपछि सोमबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा मुद्दा परेको थियो । तर, न्यायाधीश नित्यानन्द पाण्डेका आफन्त वकिल पुष्पराज पाण्डे छविलाल जोशीको तर्फबाट वकालत गरेका कारण फेरि मुद्दा हेर्न नमिल्नेमा परेको सर्वोच्च अदालतले जनाएको छ ।

रवि लामिछानेका कानुनी प्रतिनिधि डा. नारायण कँडेलका अनुसार, अब हेर्न नमिल्ने न्यायाधीशहरूको सूची प्रस्ट भइसकेकोले आगामी सुनुवाइमा प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

“आज पनि सुनुवाइ भएन, तर हामीले अब हेर्न नमिल्ने न्यायाधीशहरू को-को हुनुहुन्छ भन्नेबारे विश्लेषण गरिसक्यौँ,” डा. कँडेलले भने, “अबको पेसीमा सुनुवाइ अघि बढ्ने हाम्रो विश्वास छ ।”

यसअघि न्यायाधीश हरिप्रसाद फुयाँल, तिलप्रसाद श्रेष्ठ, अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलले पनि व्यक्तिगत कारण देखाउँदै मुद्दा हेर्न नमिल्ने बताएका थिए । अब न्यायाधीश नित्यानन्द पाण्डे पनि सो सूचीमा थपिएका छन् ।

रवि र छविले सुप्रिम सहकारी ठगीसम्बन्धी आरोपमा उच्च अदालत तुलसीपुरको आदेशविरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । रविका तर्फबाट उनकी श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरण (हाबियस कोर्पस) सम्बन्धी निवेदन दिएका थिए, जुन अघिल्लो साता दर्ता भए पनि अहिलेसम्म सुनुवाइ हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया