रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको निर्णयविरूद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरे

फाइल तस्बिर।

काठमाडौं — पत्रकार रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको ६० लाख रुपैयाँ धरौटी माग गर्ने निर्णयविरूद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका छन्।

शुक्रबार उच्च अदालत पाटन पुगेर लामिछानेले ६० लाख धरौटी माग्ने निर्णयलाई बदर गर्ने माग गर्दै निवेदन दिएका हुन्।

यसअघि, माघ २ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा ६० लाख रुपैयाँ धरौटी लिएर लामिछानेलाई छाड्न आदेश दिएका थिए। सो आदेशअनुसार लामिछानेले धरौटी बुझाएर छुटेका थिए।

तर, उक्त आदेशविरूद्ध लामिछाने शुक्रबार उच्च अदालत पाटन पुगेका हुन्।

यसैगरी, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेसहित सहकारीकी सदस्य सुनिता नेवा, कमल लामा र छविलाल जोशीलाई थुनामा राख्न माग गर्दै निवेदन दर्ता गरेको छ।

जिल्ला अदालतले छविलालसँग ५० लाख, सुनितासँग ४ लाख र कमलसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो।

यसअघि, लामिछानेले कास्की र रूपन्देही जिल्ला अदालतका आदेशविरूद्ध पुनरावेदन निवेदन दर्ता गरिसकेका छन्। कास्की अदालतले ६५ लाख र रूपन्देही अदालतले १ करोड धरौटी माग गरेको थियो।

तपाईको प्रतिक्रिया