रवि लामिछानेको चुनावी खर्च सार्वजनिक, चितवन–२ मा झन्डै ९ लाख ९० हजार खर्च


काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन–२ उपनिर्वाचनसँग सम्बन्धित आफ्नो चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्।

लामिछानेले मंगलबार जिल्ला निर्वाचन कार्यालय चितवनमा खर्च विवरण पेस गरेका हुन्। उनले निर्वाचन आयोगलाई बुझाएको विवरण अनुसार चुनावी गतिविधिमा कुल ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

प्रस्तुत विवरणमा मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ। त्यसैगरी नमुना मतपत्र तथा प्रचार सामग्री छपाइमा ६८ हजार १६१ रुपैयाँ खर्च भएको विवरणमा समेटिएको छ।

यातायात र इन्धनतर्फ २ लाख ९५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ भने मतदाता प्रशिक्षण कार्यक्रमका क्रममा खाजा व्यवस्थापनमा १४ हजार २०० रुपैयाँ खर्च भएको बताइएको छ। वडास्तरमा गरिएको प्रचारप्रसारका लागि ४६ हजार रुपैयाँ खर्च भएको पनि विवरणमा जनाइएको छ।

यसैगरी खाद्यान्न तथा रासन खरिदका लागि १ लाख २६ हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ। हवाई यात्रामा १३ हजार ६२६ रुपैयाँ खर्च भएको तथा विभिन्न गोष्ठी र भेलाको व्यवस्थापनका लागि १ लाख ८० हजार रुपैयाँ खर्च गरिएको विवरणमा समावेश गरिएको छ।

निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारहरूले चुनाव सम्पन्न भएपछि आफ्नो खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ।

तपाईको प्रतिक्रिया