यो सरकार काम गरेर देखाउँछ, दिन गनेर बस्दैन: उपप्रधानमन्त्री विष्णु पौडेल

काठमाडौं । उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार वचनमा मात्र सिमित नबसी, वास्तविक काम गरेर जनतालाई आशा र विश्वास दिलाउने बताउनु भएको छ। उनले बिहीबार राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा सरकारको उद्देश्य जनतालाई आशा दिने रहेको स्पष्ट पार्नुभयो।

“अर्थतन्त्रमा देखा परेका समस्याहरूलाई समाधान गर्दै अगाडि बढ्नेछौं,” अर्थमन्त्री पौडेलले भने, “हामी दिन गनेर बस्दैनौं, काम गरेर देखाउँछौं। निराशालाई आशामा बदल्ने प्रयास गर्दै छौं र देश छोडेर जान चाहने वातावरण हटाउन काम गर्दैछौं।”

देशको अर्थतन्त्र दबाबमा रहेको बताउँदै उनले थपे, “हाम्रो अर्थतन्त्र अहिले दबाबमा छ, तर हामी यसलाई चिर्ने प्रयास गर्दै अगाडि बढिरहेका छौं। सुधारका कामलाई अझ तीव्र बनाउन जारी राख्नेछौं।”

बैंकको प्रगति र समृद्धिमा कर्मचारीहरूको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै, पौडेलले आगामी दिनमा बैंकले अन्य संस्थाहरूलाई पछाडि पार्नका लागि कसम गर्ने निर्देशन पनि दिएका छन्। उनले कर्मचारीलाई थप काम गरेर उत्कृष्टता प्राप्त गर्ने प्रोत्साहनसमेत दिए।

तपाईको प्रतिक्रिया