यूके पठाउने प्रलोभनमा १८ लाख ठगी, तीन जना पक्राउ

काठमाडौं — वैदेशिक रोजगारीका लागि यूके पठाइदिने आश्वासन दिई रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्युठान नगरपालिका–९ स्थायी ठेगाना भई हाल दाङको राप्ती गाउँपालिका–१ बसोबास गर्दै आएका ३९ वर्षीय इन्द्रबहादुर केसी, धादिङको थाक्रे गाउँपालिका–५ स्थायी ठेगाना भई हाल काठमाडौंको स्वयम्भू क्षेत्रमा बस्दै आएका ४० वर्षीय आइते तामाङ तथा काठमाडौं महानगरपालिका–१५ मा बसोबास गर्ने ३४ वर्षीय विजय गुरुङ रहेका छन्।

प्रहरीका अनुसार इन्द्रबहादुर केसी र आइते तामाङले यूके पठाइदिने भन्दै सात जना पीडितबाट जम्मा १३ लाख रुपैयाँ असुली सम्पर्कविहीन भएका थिए। त्यस्तै, विजय गुरुङले पनि यूकेमा रोजगारीको व्यवस्था मिलाइदिने बहानामा एक जना पीडितबाट पाँच लाख रुपैयाँ लिई सम्पर्क तोडेका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया