युवापुस्ताको अपेक्षा सम्बोधन गर्न संविधान संशोधन आवश्यक : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिँदो समय र युवापुस्ताको अपेक्षाअनुसार संविधान संशोधनको विषयलाई गम्भीर रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधानलाई समयानुकूल परिमार्जन गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।

शर्माले वर्तमान समाजमा देखिएका असन्तुष्टि र अपेक्षालाई समयमै सम्बोधन गर्न नसकिए भविष्यमा थप जटिल अवस्था सिर्जना हुन सक्ने बताए। संविधान संशोधनको प्रक्रिया दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्ने उनको भनाइ थियो।

उनले आवेग र राजनीतिक आग्रहभन्दा बाहिर निस्केर नागरिक तथा युवापुस्ताको भावना केन्द्रमा राखी संविधान परिमार्जन गर्नुपर्नेमा जोड दिए। साथै, नेपाली कांग्रेसले संविधान संशोधन र समसामयिक राजनीतिक विषयमा अध्ययन तथा सुझाव संकलनका लागि उपसभापति पुष्पा भुसाल को नेतृत्वमा विज्ञ टोली परिचालन गरेको जानकारी दिए।

यस प्रक्रियामा पार्टीभित्र तथा बाहिरका बौद्धिक वर्ग, आलोचक र आमनागरिकबाट रचनात्मक सुझाव लिने तयारी रहेको पनि उनले बताए।

कार्यक्रममा बोल्दै शर्माले युवापुस्ताको आशा र अपेक्षालाई विश्वासमा रूपान्तरण गर्न नसकिए आगामी वर्षहरूमा असन्तुष्टि बढ्न सक्ने संकेत गरे। उनले लोकतान्त्रिक प्रणालीभित्रै रहेर विकास र सुशासनलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार आजको युवापुस्ताले लोकतन्त्रसँगै विकासलाई पनि प्राथमिकतामा राखेको छ। देश साझा जिम्मेवारीको विषय भएकाले सरकार र प्रतिपक्ष दुवैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।

तपाईको प्रतिक्रिया