यस वर्ष मनसुनमा अधिकांश स्थानमा औसतभन्दा बढी वर्षाको पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशभर सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ। विभागका अनुसार मनसुन कोशी प्रदेशबाट सुरु भई लुम्बिनी प्रदेशसम्म विस्तार भइसकेको छ, र अब क्रमशः अन्य पश्चिमी क्षेत्रतर्फ फैलिनेछ।

मनसुनसँगै आउने सम्भावित प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ कार्यान्वयनमा ल्याएको छ।

प्राधिकरणका अनुसार यस वर्ष बाढी, पहिरो, डुबान र चट्याङजस्ता विपद्का कारण देशभर झण्डै १९ लाख ९७ हजारभन्दा बढी जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। कार्ययोजना संघीय, प्रदेश, जिल्ला र स्थानीय तहका निकायसँगै सुरक्षाकर्मी र सरोकारवालालाईसमेत पठाइएको छ।

सरदरभन्दा बढी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्मका सबै निकायहरूलाई पूर्वतयारीमा जुट्न आग्रह गरेको छ। विपद् न्यूनीकरण तथा प्रतिकार्यमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न पनि उसले जोड दिएको छ।

मनसुन सुरु भएपछिको ३०, ६०, ९० दिन र मनसुनको अन्त्यपछि समेत कार्ययोजनाको प्रभावकारिता मूल्यांकन गरिने प्राधिकरणले जनाएको छ।

साथै, नागरिकहरूलाई बाढी, डुबान, चट्याङलगायत आपतकालीन अवस्थाको पूर्वसूचना तथा चेतावनीप्रति सतर्क रहन, र सरकारी निकायद्वारा जारी गरिने आधिकारिक सूचनाको पालना गर्न विशेष अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया