मोदी र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता, सीमामा शान्ति र स्थिरता कायम राख्ने प्रतिबद्धता


काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका विदेशमन्त्री वाङ यीबीच मंगलबार महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा दुवै पक्षले भारत–चीन सीमामा शान्ति र स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री मोदीले सीमा विवादको विषयलाई “निष्पक्ष, तर्कसंगत र दुवै पक्षलाई स्वीकार्य” तरिकाबाट समाधान गर्न भारत प्रतिबद्ध रहेको दोहोर्‍याए।

भेटपछि सामाजिक सञ्जालमार्फत मोदीले गत वर्ष कजानमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भएको भेटपछिको सकारात्मक प्रगतिलाई स्मरण गर्दै, भारत–चीन सम्बन्ध परस्पर संवेदनशीलता र हितको सम्मान गर्दै अघि बढिरहेको बताएका छन्।

प्रधानमन्त्री मोदीले राष्ट्रपति सीको निमन्त्रणामा तियानजिनमा आयोजना हुने शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने पुष्टि गरेका छन्। उनले उक्त सम्मेलनका अवसरमा राष्ट्रपति सीसँगको आगामी भेटका लागि आफू उत्साहित रहेको पनि जनाएका छन्।

यसअघि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र वाङ यीबीच सम्पन्न २४औँ सीमा वार्तामा पनि दुवै पक्षले पछिल्लो समय सीमामा सुधार भएको र शान्ति कायम रहेको बताएका थिए।

डोभालले कजानमा भएको अघिल्लो सहमतिले दुवै पक्षलाई फाइदा पु¥याएको भन्दै नयाँ वातावरणले द्विपक्षीय सहयोगका क्षेत्रमा सकारात्मक गति दिएको बताएका छन्।

विदेशमन्त्री वाङ यीले पछिल्ला केही वर्षमा उत्पन्न तनावले भारत र चीन दुवैलाई नकारात्मक असर गरेको स्वीकार गर्दै भने, “अब सीमामा स्थिरता बहाल भएको छ। इतिहास र यथार्थले देखाएको छ कि भारत–चीनबीचको सुदृढ सम्बन्ध दुवै देशको दीर्घकालीन हितमा हुन्छ।”

यसअघि १८ अगस्टमा भारतीय विदेशमन्त्री एस. जयशंकर र वाङ यीबीच पनि भेटवार्ता भएको थियो। वाङ यीले एससीओ सम्मेलनमा प्रधानमन्त्री मोदीको प्रस्तावित सहभागितालाई चीनले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै, भ्रमणको सफलताका लागि भारतको सक्रिय सहयोगको अपेक्षा गरेका थिए।

तपाईको प्रतिक्रिया