मुलुकलाई सही दिशातर्फ डोर्‍याउने दायित्व युवाको काँधमा : सञ्चारमन्त्री गुरुङ

पाटन, । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई सही दिशातर्फ डोर्‍याउने दायित्व युवाको काँधमा आएको बताउनुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा संस्था सञ्जाल (आयोन)ले आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले युवाहरूलाई देशको भविष्य मात्र नभई वर्तमान समस्याहरू समाधान गर्ने नेतृत्वकर्ता बन्न आग्रह गर्नुभयो।

मन्त्री गुरुङले युवामा समाज र संसार परिवर्तन गर्ने क्षमता रहेकोमा विश्वास व्यक्त गर्दै उत्कृष्ट नीति निर्माण र कार्यान्वयनमा युवाको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो। “प्रतिबद्धता कार्यान्वयन गर्नुपर्छ, युवालाई दिगो विकास लक्ष्यको स्थानीय साझेदार बनाउनुपर्छ,” उहाँले भन्नुभयो।

सञ्चारमन्त्रीले सूचना प्रविधि क्षेत्रमा युवालाई उत्प्रेरित गर्न कानुनी प्रबन्ध पनि तयार पारिएको जानकारी दिँदै नेपाललाई सूचना प्रविधि हब बनाउन युवा सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले डिजिटल नेपाल कार्यक्रम, फाइभ-जी लागू गर्ने तयारी र स्याटेलाइट नीति कार्यान्वयनका विषयमा पनि जानकारी दिनुभयो।

उहाँले प्रविधिको पहुँच सबैसम्म पुर्याउन जोड दिनुभयो र असमानता हटाउन कुनै घर वा समुदाय छोड्न नहुने बताउनुभयो। नवप्रवर्तन केन्द्र स्थापना, सीप विकास र तथ्याङ्क केन्द्र स्थापना सरकारको प्राथमिकता रहेको पनि उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवालाई नीति निर्माणदेखि कार्यान्वयनसम्म समावेश गर्नुपर्ने र उद्यमशीलता तथा रोजगारीसँग जोड्नुपर्नेमा जोड दिनुभयो। आयोनका पूर्वकार्यकारी सदस्य तिलोतमा पौडेलले बहुजातीय समाजमा युवालाई नेतृत्वमा स्थापित गर्न प्राथमिकता दिनुपर्ने बताए।

आयोनले सातवटै प्रदेशका ९२ वटा युवा संस्थाहरूको छाता संस्था भएर युवाको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, नीति निर्माणमा सहभागिता र राष्ट्रिय निर्माणमा सहयोग गर्दै आएको जानकारी समेत दिइएको थियो।

यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस ‘दिगो विकास लक्ष्य र त्यसपछिका लागि स्थानीय युवाको नेतृत्व’ भन्ने नाराका साथ मनाइएको थियो।

तपाईको प्रतिक्रिया