मुख्यमन्त्री बानियाँले साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने

मकवानपुरगढी । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थालेका छन्। एमाले–कांग्रेस गठबन्धनको समर्थनमा साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले संवैधानिक प्रावधान अनुसार तोकिएको समयभित्र विश्वासको मत लिन लागेको हो।

संविधानको धारा १६८ (उपधारा ४) र प्रदेशसभा नियमावली २०७४ को नियम १४३ (उपनियम १) अनुसार, नियुक्त मुख्यमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिनैपर्ने व्यवस्था छ।

बानियाँले प्रदेशसभा सचिवालयलाई साउन २७ गतेका लागि बैठक बोलाउने जानकारी गराइसकेका छन् भने सभामुख भुवनकुमार पाठकलाई पनि विश्वासको मत लिने प्रस्तावबारे जानकारी दिइसकिएको छ। सभामुखका अनुसार औपचारिक पत्र प्राप्त भएसँगै बैठकको मिति अन्तिम रूपमा तोकिनेछ।

सत्तारूढ गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदको समर्थनमा बानियाँ मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले हालसम्म एक विना विभागीय मन्त्रीसहित कांग्रेसका २ र एमालेका ६ मन्त्रीलाई मन्त्रिपरिषदमा समावेश गराइसकेका छन्।

बागमती प्रदेशका १४ मन्त्रालयमध्ये गठबन्धनको सहमतिअनुसार कांग्रेसले ८ मन्त्रालय र एमालेले ६ मन्त्रालय पाउने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया