मुख्यमन्त्री कार्कीद्वारा एकीकृत समाजवादीलाई पार्टी एकताको प्रस्ताव

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पार्टी एकताको प्रस्ताव गरेका छन्।

विभिन्न १७ वटा विषय समेटिएको १३८ बुँदे मागपत्र बुझाउन आइतबार मुख्यमन्त्री कार्यालय पुगेका समाजवादी नेताहरूसँग अनौपचारिक छलफलका क्रममा उनले यो प्रस्ताव गरेका हुन्। नेकपा एमालेका स्थायी समिति सदस्यसमेत रहेका मुख्यमन्त्री कार्कीले दुईवटा “गौरवशाली पार्टीहरू” एकीकृत गरेर एउटै गौरवशाली पार्टी बनाउने विचार व्यक्त गरेका थिए।

उक्त अवसरमा एकीकृत समाजवादीका उपमहासचिव तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, पोलिटब्युरो सदस्य महेश रेग्मी, राजन राई, प्रदेश अध्यक्ष सरिता खड्का लगायतका झन्डै तीन दर्जन नेता सहभागी थिए।

नेताहरूले बुझाएको मागपत्रमा गिरीबन्धु टी–स्टेटको जग्गा अनियमिततामाथि उच्चस्तरीय छानबिनको माग गरिएको छ। साथै, विकास निर्माणमा ढिलासुस्ती, गुणस्तरहीन काम र खर्चमा अनावश्यक फजुल खर्च रोक्न विशेष संयन्त्रको निर्माण आवश्यक भएको बताएका छन्।

मागपत्रमा कृषि, पर्यटन, उद्योग, स्वास्थ्य, खानेपानी, ऊर्जा, शिक्षा, रोजगारी लगायतका १७ क्षेत्र समेटिएका छन्।

मुख्यमन्त्री कार्कीले समाजवादीले उठाएका मुद्दाहरूलाई ‘जायज’ भन्दै प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम तयार पार्न यसले सहयोग पुग्ने प्रतिक्रिया दिएका छन्।

पूर्वमुख्यमन्त्री राईले भने माग सुनुवाइ नभए आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्। ‘हामीले शान्तिपूर्णरूपमा माग राखेका छौँ,’ राईले भने, ‘यदि बेवास्ता गरियो भने सडक आन्दोलनमा जान बाध्य हुनेछौँ।’

मागपत्रमा प्रदेश नामकरणबारे उठेका पहिचानसम्बन्धी माग, मुकुम्लुङ (पाथीभरा) केबलकार निर्माणमा देखिएको विवाद समाधान गर्न स्थानीय सरोकारवाला पक्षसँग छलफल र पहल गर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया