मिस वर्ल्ड विवाद : मिस इङ्गल्यान्डले हैदराबादको पेजेन्ट छाडिन्, आयोजकमाथि गम्भीर आरोप

काठमाडौँ — मिस इङ्गल्यान्ड २०२५ की प्रतिस्पर्धी मिला म्यागीले हैदराबादमा चलिरहेको मिस वर्ल्ड पेजेन्ट बीचमै छाडेकी छिन्। उनले आयोजकहरूलाई प्रायोजक र फाइनान्सरसँग ‘सम्बन्ध विस्तार’ गर्न दबाब दिएको गम्भीर आरोप लगाएकी छन्।

२४ वर्षीया म्यागीले बेलायती पत्रिका ‘द सन’सँगको अन्तर्वार्तामा भनिन्, “हामी सामाजिक विषयमा आवाज उठाउन आएका थियौं, मनोरञ्जन दिन होइन। पेजेन्टमा मलाई त्यस्ता काम गर्न बाध्य पारियो जसले मलाई वेश्याजस्तो महसुस गरायो।”

उनले थपिन्, “प्रतियोगितामा १०९ प्रतियोगीहरूलाई सधैं सजिएर, मुस्कुराउँदै र पाहुनालाई खुसी पार्दै बस्न भनिन्थ्यो। दिनभरि भारी गाउन र ब्रेकफास्टमा समेत मेकअपमा रहनुपर्ने दबाब थियो। हरेक टेबलमा ६ पाहुना र २ प्रतियोगी राखेर उनीहरूलाई मनोरञ्जन गर्न भनिन्थ्यो।”

मिस वर्ल्डकी सीईओ जुलिया मोर्लेले २४ मेमा जारी गरेको बयानमा म्यागीका आरोपहरू पूर्ण रूपमा अस्वीकार गरिन्। उनले भनिन्, “मिला म्यागीले आमाको स्वास्थ्य कारणले प्रतियोगिता छाड्ने निर्णय गरेकी हुन्। सङ्गठनले उनको स्वदेश फिर्तीको पूर्ण व्यवस्था गरेको छ।”

मिस वर्ल्ड सङ्गठनले म्यागीका आरोपहरू झूट्टा र अपमानजनक भएको दाबी गर्दै बेलायती मिडियालाई गलत रिपोर्टिङ गरेको आरोप पनि लगाएको छ।

म्यागीले प्रतियोगिता छाडेपछि मिस इङ्गल्यान्डकी रनर–अप चार्लोट ग्रान्टले उनको स्थान लिएकी छिन्। फिनाले ३१ मेमा हुँदैछ। यो मिस वर्ल्डको ७४ वर्षको इतिहासमा पहिलोपटक मिस इङ्गल्यान्डको प्रतिनिधि प्रतिस्पर्धाको अन्तिम चरणमा परिवर्तन गरिएको घटना हो।

प्रतिनिधि परिवर्तनले इङ्गल्यान्डको दाबेदारीमा असर पर्ने सम्भावना समेत देखिएको छ।

तपाईको प्रतिक्रिया