मामालाई बाबु देखाएर नक्कली नागरिकता बनाएको अभियुक्त १९ वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान तथा ज्यान मार्ने मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ।

सुनसरीको बराह नगरपालिका–३ घर भएका सन्दिप धामी (रुपलाल धामी) लाई प्रहरीले काठमाडौं महानगरपालिका–२६, सामाखुशीबाट पक्राउ गरेको हो।

धामीसहितका अन्य ८ प्रतिवादीले विसं २०६१ फागुन १० गते नरेन्द्र मोक्तानलाई पुरानो रिस र द्वेषका कारण हतियार प्रहार गरी हत्या गरेका थिए। रातको समयमा उनीहरूले मृतक मोक्तानको घरमा पुगेर हत्या गरी उनको शव नालामा फालेका थिए।

धामीलाई जन्मकैदको सजाय सुनाइएको थियो, तर उनी फरार थिए। मंगलबार प्रहरीले उनलाई पक्राउ गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले थाहा पाएको छ कि धामीले पक्राउ पर्ने डरले नक्कली नागरिकता बनाएको रहेछ। प्रहरीका अनुसार, धामीले २०६८ साल जेठ २६ गते जिल्ला प्रशासन कार्यालय, सुनसरीबाट नक्कली नागरिकता बनाएका थिए।

त्यसमा उनले आफ्ना मामालाई बाबु भन्दै वंशजको आधारमा नागरिकता बनाएको खुलेको छ।

तपाईको प्रतिक्रिया