मानव अधिकार आयोगलाई एमालेको प्रतिक्रिया: आफ्नो तटस्थता र निष्पक्षता तिर ध्यान दिनू

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय मानव अधिकार आयोगलाई तटस्थता र निष्पक्षता कायम राख्न सुझाव दिएको छ। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको अभिव्यक्तिप्रति आयोगले गम्भीर ध्यानाकर्षण जनाएपछि पार्टीको तर्फबाट औपचारिक प्रतिक्रिया आएको हो।

प्रधानमन्त्री ओलीले आगामी जेठ १५ गते काठमाडौं ‘कब्जा’ गर्नुपर्ने भन्ने अभिव्यक्तिप्रति आयोगले सार्वजनिक रूपमा आपत्ति जनाउँदै उक्त भनाइ पदीय मर्यादा विपरीत भएको टिप्पणी गरेको थियो।

त्यसप्रति प्रतिक्रिया दिँदै एमाले महासचिव शंकर पोखरेलले आयोगले आफ्नो भूमिका संविधानसम्मत, तटस्थ र निष्पक्ष बनाउनु पर्ने बताए। “मानव अधिकार आयोगले आफ्नो भूमिका तटस्थ, निष्पक्ष र संविधानसम्मत बनाउनुपर्छ। त्यसतर्फ उसको ध्यान गएको होला भन्ने मैले ठानेको छु,” पोखरेलले भने।

उनले प्रधानमन्त्री ओली पार्टीका अध्यक्षसमेत भएकाले पार्टीको कार्यक्रममा पार्टीको नीतिअनुसार बोल्नु स्वाभाविक भएको पनि स्पष्ट पारे। “सरकार र पार्टीका नीति फरक कुरा हुन्। पार्टीको कार्यक्रममा पार्टीको, र सरकारको कार्यक्रममा सरकारको नीतिअनुसार उहाँ प्रस्तुत हुनुहुन्छ,” पोखरेलको भनाइ थियो।

तपाईको प्रतिक्रिया