माग पूरा नभएसम्म तालाबन्दी जारी रहने खेलाडी संघको चेतावनी

काठमाडौं — नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघको सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा आइतबार अनिश्चितकालीन तालाबन्दी गरेको छ।

खेलाडी संघका अध्यक्ष विक्रम लामाका अनुसार खेलाडीहरूको विभिन्न माग सम्बोधन नभएसम्म तालाबन्दी नखोलिने जनाइएको छ। आफ्ना मागहरू प्रस्तुत गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू आइतबार एन्फा कार्यालय पुगेका थिए।

खेलाडीहरूले एन्फा नेतृत्वसँग छलफल गर्न चाहेका भए पनि सम्बन्धित पदाधिकारी उपस्थित नभएपछि तालाबन्दी गरिएको जनाइएको छ।

खेलाडी संघले लामो समयदेखि आयोजना हुन नसकेको सहिद स्मारक लिग ‘ए’ डिभिजन प्रतियोगिताको निश्चितता, खेलाडी अक्षय कोषसम्बन्धी विवरण तथा खेलाडीहरूले पाउन बाँकी पुरस्कार राशिबारे स्पष्ट जानकारी दिनुपर्ने माग राखेको जनाएको छ।

संघका अनुसार सन् २०१७ देखि खेलाडीहरूले पाउनुपर्ने केही पुरस्कार राशि हालसम्म वितरण हुन बाँकी रहेको बताइएको छ। साथै सहिद स्मारक लिग ‘ए’ डिभिजन प्रतियोगिता आयोजना भएको पनि तीन वर्षभन्दा बढी समय बितिसकेको उल्लेख गरिएको छ।

अध्यक्ष लामाले खेलाडीहरूको माग सम्बोधन नभएसम्म तालाबन्दी जारी रहने बताएका छन्।

तपाईको प्रतिक्रिया