माओवादीले जेठ २ गतेदेखि मध्य पहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी जेठ २ गतेदेखि मध्य पहाडी लोकमार्ग अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा शनिबार बसेको पदाधिकारी बैठकले उक्त अभियान सुरु गर्ने निर्णय गरेको हो।

प्रचण्ड सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार बैठकमा माओवादीप्रति जनस्तरमा देखिएको विश्वास, अभियानको तयारी, कार्ययोजना र संगठन सुदृढीकरणसम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।

त्यसैगरी, बैठकमा हालै सम्पन्न तराई–मधेस जागरण अभियानको समेत समीक्षा गरिएको सचिवालयले जनाएको छ। झापादेखि कञ्चनपुरसम्म सञ्चालन गरिएको हुलाकी राजमार्ग केन्द्रित उक्त अभियानपछि अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूबीच समीक्षा बैठक बसेको हो।

माओवादी केन्द्रले तराई–मधेस अभियानले राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको दाबी गरेको छ। ‘यो अभियान माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्रकै साझा अभियान बनेको छ,’ सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘अभियानमा सक्रिय सहभागिता जनाउने सम्पूर्ण जनसमुदायप्रति धन्यवाद प्रकट गर्दछौं।’

तपाईको प्रतिक्रिया