मन्त्री बन्न होइन, परिवर्तनका लागि पार्टी छाडेकी हुँ : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी त्याग गरेपछि जेनजी आन्दोलनप्रति पूर्ण समर्थन व्यक्त गरेकी छन्। उनले आन्दोलनको एजेन्डासँग आफू अझै प्रतिबद्ध रहेको बताउँदै परिवर्तनको पक्षमा उभिने दृढता व्यक्त गरेकी हुन्।

आइतबार एक भिडियो सन्देशमार्फत श्रेष्ठले भनिन्, “मैले एजेन्डा छाडेकी होइन। जेनजीलाई साथ र सहयोग लिने र दिने हो।”

उनले आफूलाई केही व्यक्तिले मन्त्री पदको लोभमा पार्टी छाडेको भन्ने आरोप लगाएकोप्रति प्रतिवाद गर्दै भनिन्, “मन्त्री खान जान पार्टी छाडेको होइन। भाइबहिनीको आन्दोलनलाई समर्थन गर्न आएको हुँ। परिवर्तनका लागि भएको बलिदानलाई बदनाम गर्न पाइँदैन। बलिदान खेर जान दिनुहुँदैन।”

श्रेष्ठले युवाहरूको विद्रोह र आवाजलाई दबाउने प्रयास भइरहेको संकेत गर्दै सबैलाई सचेत रहन आह्वान गरिन्। “पार्टी छाड्दा धेरैले समर्थन गर्नुभयो, किनकि परिवर्तनको एजेन्डा पार्टीभित्र बसेर अघि बढाउन सकिनँ,” उनले भनिन्।

उनको सन्देश थियो, “युवा पुस्ताको विद्रोहलाई समर्थन गरौं। सबै राजनीतिक दलमा रहनुभएका साथीहरूलाई भन्न चाहन्छु — कति डराउने ? किन डराउने ? कि हट्नुस्, कि हटाउनुस्।”

तपाईको प्रतिक्रिया