सञ्चार मन्त्री खरेलद्वारा ललितपुर उद्योग वाणिज्य संघसँग अन्तरक्रिया: निजी क्षेत्रको समृद्धि र दीगो विकासमा जोड

पाटन:नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले हालै ललितपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग अन्तरक्रिया गर्नुभएको छ। अन्तरक्रियामा आर्थिक समृद्धि र दीगो विकासका आधारभूत विषयहरूमा केन्द्रित गहन र औपचारिक संवाद भएको थियो।

मन्त्री खरेलले उद्योग व्यवसायीहरूको लागि सुरक्षित, स्थिर र सहयोगपूर्ण वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध भएको स्पष्ट गर्नुभयो। उहाँले निजी क्षेत्रको समुचित संरचना र प्रवर्द्धनका लागि रणनीतिक योजना तयार गरिएको र चाँडै मन्त्रिपरिषदको स्वीकृतिका लागि पेश गरिने जानकारी दिनुभयो। यसले मुलुकको आर्थिक विकास र निजी क्षेत्रको दीगो प्रगतिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

बैठकमा Gen G आन्दोलन पछिका चुनौती, लगानीको कठिन अवस्था र व्यवसाय सञ्चालनमा देखिएका अवरोधबारे गम्भीर ध्यानाकर्षण गरियो। । उहाँले निजी क्षेत्र र सरकारबीचको सहकार्यलाई अझ सुदृढ बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो।

सञ्चार मन्त्री खरेलले राजनीतिक अस्थिरताका कारण विकासमा देखिएको अवरोधप्रति गम्भीर चासो व्यक्त गर्दै नेपालको आर्थिक रणनीति विश्वव्यापी उदारवादी परिवेशअनुसार तयार पारिनु आवश्यक रहेको बताउनुभयो । यसले रोजगारी सिर्जना, लगानी प्रवर्द्धन र युवाहरूको सृजनशीलता एवं प्रतिभा प्रवाहलाई सकारात्मक दिशा प्रदान गर्नेछ।

उहाँले विशेष रूपमा युवाहरूको देश बाहिर पलायन रोक्न नेपालमै अवसर सिर्जना गर्ने वातावरण उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो। यसले दीगो विकास, आर्थिक स्थिरता र सामाजिक समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरियो।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष विश्वराज बज्राचार्यले संघलाई डिजिटल माध्यममार्फत व्यवसायीहरूसँग जोड्न Galli App मार्फत पाटन क्षेत्रका व्यवसायीहरूको पप-अप प्रणाली आवश्यक रहेको उल्लेख गर्नुभयो। यस प्रणालीले व्यवसायीहरूले आफ्नो सेवा र उत्पादन डिजिटल प्लेटफर्ममा सजिलै प्रदर्शन गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।

संघका पदाधिकारीहरूले नेपालका हस्तकला व्यवसायीहरूको चुनौतीसमेत उठाएका छन्। करिब ८०–९० प्रतिशत हस्तकला उत्पादन ललितपुरमा हुने भए पनि आवश्यक निर्यात तथा परीक्षण (Archeology) प्रक्रिया काठमाडौंमा मात्र सञ्चालन हुनु व्यवसायीहरूका लागि समय, श्रम र लागतको चुनौती बनेको छ। संघले पाटन क्षेत्रमा नै यो प्रक्रिया सञ्चालन हुने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ।

अध्यक्षले हुलाकीटिकटसम्बन्धी समस्यामा सहयोगको माग गर्दै सरकारसँग पहल गर्नुभयो। मन्त्री खरेलले यी समस्याहरू छिट्टै समाधान हुने र सरकारी निकायसँग समन्वय गरी व्यवसायी र संघको हितमा सहज व्यवस्था सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संघका पदाधिकारीहरूले यी पहलले ललितपुरका, उद्योग व्यवसाय र स्थानीय उत्पादन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने अपेक्षा व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया