मन्त्रीहरुलाई लोसपाको निर्देशन: जनअपेक्षाअनुसार काम गर्नुहोस्

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले आफ्ना मन्त्रीहरुलाई जनअपेक्षा अनुसार काम गर्न निर्देशन दिएको छ। लोसपाले हिजो सचिवालयको बैठकमा यस सम्बन्धी सुझाव दिएको हो। पार्टीका मन्त्रीहरू सङ्घ र मधेश प्रदेश सरकारमा समावेश छन्। हालको सरकारको आलोचना भइरहँदा लोसपा नेपालले मन्त्रीहरूलाई जनहित र जनअपेक्षाअनुसार काम गर्न आग्रह गरेको हो।

लोसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले भने, “पार्टीले आफ्ना मन्त्रीहरूलाई जनहितमा काम गर्न, सुशासन स्थापित गर्न र जनअपेक्षा पूरा गर्न निर्देशन दिएको हो। खासगरी मधेश प्रदेशमा सरकारको आलोचना भइरहेको छ र पार्टीका नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाइरहेका छन्। पार्टीले उक्त असन्तुष्टि सम्बोधन हुनेगरी काम गर्न सुझाव दिएको हो।”

साथै, लोसपाले गणतन्त्र, धर्मनिरपेक्षता र अन्य उपलब्धिहरूको विरुद्ध भइरहेको प्रहारप्रति गम्भीर ध्यानाकर्षण गरेको जनाएको छ। महासचिव डा. सुरेन्द्र झाले भने, “राजावादीहरूले गणतन्त्रको विरुद्धमा जुन गतिविधि गरिरहेका छन्, त्यसलाई पार्टीले असह्य मान्दछ। यसमा पार्टीका नेता तथा कार्यकर्तालाई सचेत रहन भनिएको छ। यदि जनमतको विपरीत कुनै गतिविधि भयो भने लोसपा आन्दोलनमा समेत जानसक्छ।”

पार्टीले वडा र पालिका समितिको अधिवेशन गर्ने समय थप गरिएको पनि जनाएको छ। लोसपाले महाधिवेशनको तयारी गर्दैछ र यसका लागि वडा र पालिका समितिको अधिवेशन १७ चैतभित्र सम्पन्न गर्न निर्देशन दिएको छ।

साथै, पार्टीले कोशी प्रदेश र बागमती प्रदेशको प्रादेशिक संरचना र संगठनको बारेमा अध्ययन गर्न दुइटा छुट्टाछुट्टै समिति बनाउने निर्णय पनि गरेको छ। ती समितिहरूले प्रदेशका पार्टीगत अवस्थाको अध्ययन गरेर संगठित गतिविधि अगाडि बढाउनेछन्।

पार्टीले आफ्नो तोकेको समयमै रिपोर्ट बुझाउन पार्टीका नेता, मन्त्री, सांसद र राजनीतिक नियुक्ति पाएकाहरुलाई निर्देशन दिएको छ।

तपाईको प्रतिक्रिया