मनाङ–२ उपनिर्वाचन कात्तिक १७ मा, प्रक्रिया छोट्याएर अघि बढाउने तयारी


काठमाडौं, निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन गरिने जनाएको छ।

उपनिर्वाचनको मिति सर्वोच्च अदालतले सो क्षेत्रबाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई पदमुक्त गर्ने फैसला सार्वजनिक गरेपछि तय गरिएको हो।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सर्वोच्चको निर्णयले आयोगलाई प्रक्रिया अघि बढाउन सहज भएको जानकारी दिएका छन्।
उनका अनुसार, “दल दर्ता लगायतका प्रक्रिया छोट्याएर भए पनि उपनिर्वाचन कात्तिक १७ मा नै हुनेछ।”

यसअघि आयोगले रुपन्देही–३ मा उपनिर्वाचनको मिति घोषणा गरिसकेको थियो। तर मनाङ–२ को सन्दर्भमा सर्वोच्चको पूर्णपाठ सार्वजनिक नहुँदासम्म आयोग अन्योलमा थियो।

दीपक मनाङे विरुद्धको फौजदारी मुद्दामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद स्वतः खारेज हुने निर्णय गरेको थियो। सोही आधारमा उक्त सिट रिक्त भएपछि उपनिर्वाचनको प्रक्रिया अगाडि बढाइएको हो।

आयोगले अब दल दर्ता, उम्मेदवारी दर्ता, प्रचारप्रसार र मतदानसम्मका सम्पूर्ण कार्यतालिका छिट्टै सार्वजनिक गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया