मनसुनको एक महिना : ३१ को ज्यान गयो, २६ करोडको क्षति

काठमाडौं — मनसुन सुरु भएदेखि हालसम्मको एक महिनाको अवधिमा देशभर ६७४ वटा विपद्का घटनाहरू घटेका छन्। ती घटनामा ३१ जनाले ज्यान गुमाएका छन् भने ११२ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, जेठ १५ देखि असार १६ गतेसम्मको अवधिमा सबैभन्दा धेरै पहिरो, बाढी, चट्याङ र हुरीजन्य घटनाहरू भएका छन्।

प्राधिकरणका अनुसार, पहिरोका ८७ घटनामा २५ घर आंशिक र ११ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। पहिरोका कारण एकवटा पुल, सातवटा गोठ र १४ चौपाया नष्ट भएका छन्। पहिरोबाट मात्रै अनुमानित रु. २ करोड २१ लाख बराबरको क्षति भएको छ।

बाढीका ६४ घटनामा चारजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। बाढीका कारण १२३ परिवार प्रभावित भएका छन् र चारवटा घरमा क्षति पुगेको छ।

चट्याङका ८२ घटनामा आठजनाको मृत्यु र २० जना घाइते भएका छन्। हुरीका ४५ घटनामा एकजनाको मृत्यु तथा तीनजना घाइते भएका छन्।

मनसुनसँग सम्बन्धित विपद्का घटनाबाट हालसम्म कूल रु. २६ करोड बराबरको आर्थिक क्षति भएको प्रारम्भिक मूल्यांकन गरिएको छ।

तपाईको प्रतिक्रिया