मकवानपुरको पालुङमा यात्रुबस दुर्घटना : दुई पैदलयात्रीको मृत्यु, चार घाइते

मकवानपुर, पालुङ । मकवानपुरको थाहा नगरपालिका–३ स्थित पालुङमा यात्रुबस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

विद्युत् प्राधिकरण नजिकै गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको यात्रुबस सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उप–प्रमुख भरत गोपालीको घरमा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा अन्दाजी ३५–४० वर्ष उमेरका कृष्ण बलामी र लोकेन्द्रकुमार ठाकुरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुबै जनाको शव पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको नेतृत्वमा गएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो।

घाइतेमध्ये अन्दाजी ३५–३६ वर्षका रघुनन्दन यादव र कमलेशकुमार साहलाई थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर रिफर गरिएको छ। बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ का ३२ वर्षीय छेयाङ दोर्जे लामा र कोल्हवी नगरपालिका–१ का ३० वर्षीय रामगुलाम चौधरीको उपचार पालुङमै भइरहेको छ।

प्रहरीका अनुसार बसमा चालक मात्र सवार थिए। बस चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनामा परेका सबैजना पैदलयात्री हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया