भोटेकोसीमा बाढी: त्रिशूली नदीमा सतर्कता जारी

नुवाकोट। बुधबार बिहान ३ बजेदेखि भोटेकोसीमा आएको भीषण बाढीका कारण त्रिशूली नदीको जलसतह ह्वात्तै बढेको छ। यसले तटीय क्षेत्रमा कटान र जोखिम बढाएपछि रसुवा र नुवाकोटका स्थानीय प्रशासनले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ। बाढी बस्तीभित्र पर्न सक्ने सम्भावना रहेकाले जोखिम क्षेत्रका घरपरिवारलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीले माइकिङ गरेर स्थानीय बासिन्दालाई सूचना दिइरहेका छन्।

यसैबीच, बाढीका कारण नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा रहेको ‘त्रिशूली–काठमाडौँ प्रसारण लाइन’को एक स्टेसनमा क्षति पुगेको छ। सम्बन्धित निकायले क्षतिको विवरण संकलन तथा आवश्यक पुनःस्थापनाको तयारी थालेका छन्।

स्थानीय प्रशासनले बाढीको जोखिम अझै कायमै रहेको भन्दै आवश्यक सतर्कता र सावधानी अपनाउन सबैलाई पुनः अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया