भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते — प्रहरीद्वारा सीमाक्षेत्रमा चेकजाँच कडाइ

भैरहवा — भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार भएको छ। घटनामा होटलका सुरक्षा गार्ड मीनबहादुर परियार घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार राति करिब १ बजे होटल परिसरमा गोली चलेको थियो। बुटवल उपमहानगरपालिका–१५ का २७ वर्षीय परियारको खुट्टाको तिघ्रामा गोली लागेको र उनलाई तत्काल भीम अस्पताल भैरहवामा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। उनी अहिले डिस्चार्ज भइसकेका छन्।

प्रहरी उपरीक्षक (एसपी) प्रदीप क्षेत्रीले गोली प्रहार भएको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भइरहेको बताए। उनका अनुसार घाइते परियारले होटलमा प्रवेश गर्न खोज्ने एक अपरिचित व्यक्तिले आफूलाई रोक्न खोज्दा पेस्तोल निकालेर गोली प्रहार गरेको बयान दिएका छन्।

घटनापूर्व होटल अगाडि केही व्यक्तिहरूबीच वादविवाद चलेको र त्यसपछि तीमध्ये एक समूह होटलतर्फ प्रवेश गर्न खोज्दा गार्डले रोक्न खोज्दा घटना भएको बताइएको छ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्ति भारतबाट आएको हुनसक्ने अनुमान गरेको छ। क्षेत्रीका अनुसार सो व्यक्तिको खोजीका लागि नेपाल–भारत सीमा क्षेत्र बेलहिया आसपासमा चेकजाँच कडाइ गरिएको छ र भारतीय प्रहरीसँग पनि समन्वय गरिएको छ।

तपाईको प्रतिक्रिया