भेरी नदीमा डुबेर एक बालिकाको ज्यान गयो, दुईजना अझै बेपत्ता

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ स्थित भेरी नदीमा डुबेर एक किशोरीको ज्यान गएको छ भने दुईजना बालबालिका अझै बेपत्ता छन्।

जाजरकोटको नलगाड नगरपालिका–८ की १६ वर्षीया भगवती नेपालीको उपचारको क्रममा मृत्यु भएको हो। उनलाई स्थानीयवासीहरूले डुबेको अवस्थामा उद्धार गरी तत्काल आठबिसकोट नगर अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

डुबेर बेपत्ता हुनेमा नलगाड–८ मन्मैका १० वर्षीय महेश कुसारी र १२ वर्षीया आशा कुसारी रहेका छन्।

शुक्रबार दिउँसो करिब २:१५ बजे विद्यालयबाट फर्किने क्रममा ती तीन बालबालिका भेरी नदीको किनारमा खेल्ने क्रममा गहिरो पानीमा डुबेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा ९ सदस्यीय टोली घटनास्थलमा पठाइएको थियो। साथै, जाजरकोटस्थित विभिन्न प्रहरी इकाइबाट थप टोली खटाएर खोज तथा उद्धार कार्य जारी राखिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा भगवती नेपालीको लुगा, महेश कुसारीको साइकल, भेष्ट र चप्पल, तथा आशा कुसारीको चप्पल फेला परेको छ। तर भेरी नदीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया