भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीमा एक सय जनाको मृत्यु

काठमाडौँ — अमेरिकाले गत शनिबार भेनेजुएलामा गरेको सैन्य आक्रमणमा एक सय जनाको मृत्यु भएको पुष्टि भएको छ। आक्रमण भएको छ दिनपछि भेनेजुएलाका गृहमन्त्री डियोसदादो क्याबेलोले मृतकको संख्या सार्वजनिक गरेका हुन्।

गृहमन्त्री क्याबेलोका अनुसार राजधानी कराकस लक्षित आक्रमणमा राष्ट्रपति निकोलस मदुरोको सुरक्षामा खटिएका सुरक्षाकर्मी र गुप्तचर अधिकारीहरूको ठूलो संख्या ज्यान गएको छ। प्रारम्भिक रूपमा ४० जनाको मृत्यु भएको बताइए पनि पछिल्लो विवरणअनुसार मृतक संख्या एक सय पुगेको उनले जानकारी दिएका छन्।

अमेरिकाले शनिबार १५० भन्दा बढी लडाकू विमान प्रयोग गरी कराकसमा सैन्य कारबाही गरेको थियो। सोही क्रममा अमेरिकी सेनाले राष्ट्रपति मदुरोको निवास क्षेत्रमा प्रवेश गरेको र त्यसअघि मुख्य सैनिक अड्डा फोर्तुनामा बमबारी गरेको जनाइएको छ। आक्रमणपछि राष्ट्रपति मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर न्यूयोर्क लगिएको बताइएको छ।

यस आक्रमणमा क्युबाबाट भेनेजुएलामा खटिएका ३२ जना सुरक्षाकर्मी तथा गुप्तचरको पनि मृत्यु भएको क्युबाले पुष्टि गरिसकेको छ। यस आधारमा भेनेजुएलाका मात्रै कम्तीमा ६८ जनाको मृत्यु भएको देखिन्छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाहीका क्रममा परिचालन गरिएका १५० लडाकू विमानमध्ये एउटामा क्षति पुगेको जानकारी दिएका छन्। यद्यपि, क्षति पुगेको उक्त विमान अझै सञ्चालनयोग्य अवस्थामा रहेको अमेरिकी सेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया