भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले भूमिहीन नागरिकको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने दिशामा सरकार अघि बढिसकेको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै वास्तविक भूमिहीनको पहिचान गरी व्यवस्थित र पारदर्शी समाधान गरिने स्पष्ट पार्नुभएको हो।

प्रधानमन्त्री शाहका अनुसार जोखिमयुक्त स्थानमा बसोवास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा आवश्यक निर्णय लिइने उहाँले उल्लेख गर्नुभयो।

उहाँले काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी जग्गामा भएको अतिक्रमणबारे कानुनी प्रक्रिया अघि बढाइरहेको विषयमा विभिन्न व्याख्या र टिप्पणी भइरहेकाले त्यसप्रति सरकारको ध्यान गएको पनि बताउनुभयो। यसलाई लिएर नागरिकमा अनावश्यक त्रास फैलाउने प्रयास भएको सूचना प्राप्त भएको र सरकारले त्यसलाई गम्भीर रूपमा लिएको उहाँको भनाइ छ।

प्रधानमन्त्री शाहले भूमिसम्बन्धी ऐनका केही व्यवस्था संशोधन गरी डिजिटल रूपमा भूमिहीनको तथ्याङ्क संकलन, प्रमाणीकरण र अभिलेख तयार गर्ने काम सुरु गरिएको जानकारी दिनुभयो। यसलाई दीर्घकालीन समाधानतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

उहाँले सरकारको उद्देश्य नागरिकलाई हटाउने नभई सुरक्षित आवास सुनिश्चित गर्दै समस्या समाधान गर्नु रहेको स्पष्ट पार्नुभयो। साथै, कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै गलत सूचना र भ्रमबाट प्रभावित नहुन आग्रह गर्नुभयो।

तपाईको प्रतिक्रिया