भीषण वर्षाले उदयपुरका ग्रामीण सडक अवरुद्ध, आवागमन ठप्प

उदयपुर– लगातारको भीषण वर्षाका कारण आएको बाढी र पहिरोले उदयपुर जिल्लाका अधिकांश ग्रामीण सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्। विशेषगरी पहाडी क्षेत्रका मुख्य सडकहरू भत्किएपछि जनजीवन प्रभावित बनेको छ।

सदरमुकाम गाईघाटबाट रौता-सल्ले र रौता-भुटारतर्फ जाने सडक पहिरोका कारण अवरुद्ध भएको र स्थानीय विष्णु पाठकले जानकारी दिएका छन्। उनका अनुसार कतिपय स्थानमा सडक भत्किएर खोलामा बगिसकेका छन् भने केही ठाउँमा सिधै पहिरोले सडक पुरिएको छ।

त्यस्तै, रौता-नामन्त, रौता-आँपटार, नामेटार-ओख्रेनी, रामेटार-भदौरे र पाँबु क्षेत्रतर्फका सडकहरू पनि बन्द छन्। स्थानीय डिल्लीराम मगरका अनुसार, रौता–मुर्कुची–डिल्लीबर–माझखर्क सडक खण्डमा कैयौं ठाउँमा सडक छेउ भासिएको र कतिपय भाग खोलाले बगाएको छ।

माझखर्कका जम्बु शेर्पाले खाल्डाखुल्डी र पहिरोले सडक पूरै अवरुद्ध भएकाले मोटरसाइकलसमेत गुड्न नसकेको जानकारी दिए। मुर्कुची–डिल्लीबर–माझखर्क हुँदै लिम्चुङबुङको बासबोटे बराह जाने सडक पूर्ण रूपमा बन्द छ।

यसैगरी, उदयपुरगढी गाउँपालिकाको भलायाडाँडा–बर्रे र डुम्रे–उदयपुरगढी सडकसमेत भत्किएर आवागमन ठप्प भएको डुम्रेका गङ्गा मगरले बताए।

बेलका नगरपालिका–८ स्थित कोठुबाट मैनामैनी जोड्ने सडक पनि शनिबारको भारी वर्षाले अवरुद्ध बनाएको छ।

जिल्लाका चारै पहाडी गाउँपालिकाभित्र पर्ने अधिकांश सडक अहिले बन्द छन्। अहिले सम्म कुनै सडक सुचारु हुन सकेका छैनन् भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया