“भीरपाखाबाट बसाइँ सरौँ भन्दा मानिसहरू मान्दैनन्”

पूर्वी गुल्मीमा १२ जनाको  ज्यान जानेगरी मङ्गलवार अबेर खसेको पहिरोले कतिपय जोखिमपूर्ण स्थानमा रहेका बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने अवश्यक्ता अझै टड्कारो बनाइदिएको सत्यवती गाउँपालिकाकी उपप्रमुखले बताएकी छन्।

उक्त गाउँपालिकाको दुइवटा वडामा पहिरो खस्दा अन्य चार जना अझै हराइरहेका छन्।

पहिरोले बाटो अवरुद्ध गरेका कारण उद्धारमा कठिनाई भएको अधिकारीहरूले बताएका छन्।

सोमवार साँझदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको थियो।

वर्षा

बिहान सुतिरहेको समयमा पहिरो गएको हुँदा मानिसहरू भाग्न नसकेको बताईन्छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक दीपककुमार वस्नेतका अनुसार वडा नं ४ लिम्घामा पहिरो गएको स्थलवाट ६ जनाको शव निकालिएको थियो।

त्यहाँ वेपत्ता भएका अरु दुई जनाको खोजी कार्य जारी छ।

सत्यवती गाउँपालिका वडा नम्बर चारका वडाअध्यक्ष दानबहादुर रानाले बिहान सबेरै करीव दुईसय मिटर माथिवाट खसेको पहिरोमा ३ वटा घर पुरिएको बताए।

उनले भने: “तीनवटा घर भएको ठाउँ त बगर भएको छ। त्यहाँ केही पनि बाँकी छैन्।”

त्यस्तै सोही गाउँपालिकाको वडा नम्बर ३ मा पनि पहिरोमा परी दुई जनाको मृत्यु भएको बताईएको छ। त्यहाँ अरु दुई जना बेपत्ता भएको अनुमान गरिएको छ ।

स्थानान्तरण

सत्यवती गाउँपालिकाकी उपाध्यक्ष सुवर्णा शेरचनले अति विपन्न दलित बस्ती पहिरोबाट प्रभावित भएको बताइन्।

विपद्

“खोल्साको तलतिर घर बनाएकाले यस्तो क्षति भएको हो। सुरक्षित स्थानमा यस्ता बस्ती सार्नुपर्छ।”

उनले जोखिमपूर्ण स्थानमा रहेका बस्ती स्थानान्तरण गर्न सर्वसाधारणले नमान्दा अप्ठेरो परिरहेको पनि उल्लेख गरिन्।

“सुरक्षित ठाउँमा जानुपर्छ भनेर जनताहरूलाई कति सम्झायौ तर उनीहरूले मान्दै मानेन्न। गाउँपालिकाले राहत दिएर जाउँ भन्दा पनि गाह्रो भइरहेको छ।”

कतिपय विज्ञहरूले पहाडी भू-बनोटमा पर्याप्त अध्ययनबिना जथाभावी सडक खन्ने प्रवृत्ति बढ्दा पनि यस्तो पहिरोका घटनाहरूमा वृद्धि भएको बताउने गरेका छन्।

तर उपाध्यक्ष शेरचनले सडक निर्माणका कारण गुल्मीमा पहिरो नगएको बताइन्।

उनले भनिन्: “जनताको चाहना दुईचार वटा मात्रै घर हुँदा पनि बाटो पुर्याइदिए हुन्थ्यो भन्ने छ। हामीले त्यसो नगरौं नत्र पहिरो जान्छ भनेर सम्झाइरहेका छौँ।”

गुल्मीको विपद् प्रभावित क्षेत्रमा करिब दुईसय घर पहिरोको जोखिममा रहेकोले त्यहाँका बासिन्दालाई नजिकको विद्यालयमा सार्ने प्रयास भइरहेको बताइन्छ।

बीबीसी नेपाली सेवाबाट साभार

तपाईको प्रतिक्रिया