भिजिट भिसा प्रकरणमा छानविनको माग गर्दै रास्वपा र राप्रपाद्वारा संसद बहिष्कार

काठमाडौं — भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीको छानविनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक पनि बहिष्कार गरेका छन्।

बैठक सुरु हुनेबित्तिकै दुवै दलका सांसदहरू उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले रास्वपाका सांसद शिशिर खनाललाई बोल्ने समय दिएपछि उनले सरकार विगत दुई महिनादेखि मौन रहेको आरोप लगाए।

खनालले मानव तस्करीको संवेदनशील विषयमा उच्चस्तरीय स्वतन्त्र छानविन समिति गठनको माग भइरहेको तर सरकार गम्भीर नदेखिएको बताए। उनले संसदमा प्रतिपक्षीको आवाज दबाउन खोजिएको आरोपसमेत लगाए।

उनपछि राप्रपाकी सांसद बिना लामाले पनि भिजिट भिसा प्रकरणको छानविन गर्न सरकार इच्छुक नरहेको बताउँदै जबसम्म छानविन समिति गठन हुँदैन, तबसम्म संसदमा विरोध जारी रहने चेतावनी दिइन्।

उनको मन्तव्यपछि रास्वपा र राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन्। बैठक भने सभामुखको अध्यक्षतामा सामान्य ढंगले जारी छ।

तपाईको प्रतिक्रिया