भारत–पाकिस्तान युद्धविरामपछि ३२ विमानस्थल पुनः सञ्चालनमा, उडान सामान्य बन्दै

काठमाडौं, वैशाख ३० – भारत–पाकिस्तान बीचको सैन्य तनावपछि अस्थायी रूपमा बन्द गरिएका ३२ विमानस्थलहरू सोमबारदेखि पुनः सञ्चालनमा आएका छन्। भारतीय विमानस्थल प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै बन्द गरिएका सबै विमानस्थल नागरिक उडानका लागि खोलिएको जानकारी दिएको हो।

गएको मे ७ मा युद्धको जोखिम बढेपछि भारतले सुरक्षा सावधानी स्वरूप यी विमानस्थलहरू मे १५ सम्मका लागि बन्द गरेको थियो। अब युद्धविरामको घोषणा भएसँगै उडानहरू पुनः सुरु गरिएको हो।

प्राधिकरणले यात्रुहरूलाई सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरेर जानकारी लिन र नियमित अपडेटका लागि वेबसाइट हेर्न सल्लाह दिएको छ। इन्डिगो एयरलाइन्सले सेवा पुनः सुरु भइसकेको जनाउँदै केही दिन पूर्ण रूपमा सामान्य हुन समय लाग्न सक्ने जानकारी दिएको छ।

एयरलाइन्सले यात्रुहरूलाई समयमै विमानस्थलमा पुग्न पनि अनुरोध गरेको छ। तनावको अवस्थाबाट सामान्यतर्फ फर्किँदै गरेका यी विमानस्थलहरूमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू क्रमशः सुचारु हुँदै जाने जनाइएको छ।

अहिलेसम्मको जानकारी अनुसार, सुरक्षा अवस्थामाथि मूल्याङ्कन गर्दै अन्य सेवाहरू पनि क्रमशः सञ्चालनमा ल्याइने बताइएको छ।

तपाईको प्रतिक्रिया