भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण नेपालमा पनि सुरक्षा निगरानी कडा

काठमाडौं — भारत–पाकिस्तानबीच बढ्दो तनावका कारण नेपालमा पनि सुरक्षा सतर्कता बढाइएको छ। नेपाल–भारत सीमा नाका र विमानस्थलहरूमा निगरानी कडा पार्ने निर्णय गरिएको छ।

बुधबार गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भारत–पाकिस्तानबीचको पछिल्लो तनाव, त्यसको नेपालमा पार्न सक्ने प्रभाव, आन्तरिक सुरक्षा तथा सम्भावित चुनौतीका विषयमा विस्तृत छलफल गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीका अनुसार देशमा अवाञ्छित गतिविधि हुन नदिन सीमा क्षेत्र, विमानस्थल र अन्य संवेदनशील स्थानमा निगरानी कडा पार्ने र सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राख्ने निर्णय बैठकमा गरिएको छ।

प्रवक्ता तिवारीले भने, “सीमानाका र विमानस्थलहरूमा विशेष निगरानीसहित सुरक्षा व्यवस्था चुस्त बनाइनेछ। राष्ट्रिय तथा आन्तरिक सुरक्षा सुनिश्चित गर्न, सूचना आदान–प्रदान र आवश्यक समन्वयलाई प्राथमिकता दिने विषयमा बैठकमा निर्णय गरिएको छ।”

बैठकमा भारत र पाकिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षासम्बन्धी विषयमा पनि छलफल भएको जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया