भारतीय निर्वाचनको सन्देश

विनोद नेपाल

भारतमा १७ औं लोकसभा निर्वाचन १९ मे अर्थात् ५ जेठमा भएको सातौं चरणको मतदानपछि सम्पन्न भएको छ । अन्तिम चरणमा केन्द्रशासित प्रदेश चण्डीगढका अतिरिक्त अन्य सात राज्यका ५९ स्थानका लागि भएको थियो । यस चरणमा पन्जाब तथा उत्तर प्रदेशका १३÷१३, पश्चिम बंगालका ९, विहार तथा मध्यप्रदेशका ८÷८, हिमाचलका ४, झारखण्डका ३ तथा चन्डीगढको एक स्थानका लागि मतदान भयो । यो मतदानसँगै भारतको संसद्को तल्लो सदनका ५४३ मध्ये ५४२ स्थानका लागि मतदान भएको हो । यस चरणमा १० करोड मतदाता, ९१८ उम्मेदवार तथा सात केन्द्रीय मन्त्रीको समेत भाग्य परीक्षण हुँदै थियो । प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी यही चरणमा सम्पन्न निर्वाचनमा धार्मिक नगरी वाराणासीबाट उम्मेदवार थिए । सन् २०१४ मा सम्पन्न निर्वाचनमा यही क्षेत्रबाट विजयी बनेका मोदी यसपाली दोस्रोपटक प्रतिस्पर्धामा उत्रिएका हुन् । यहाँ मोदीका अतिरिक्त अन्य २५ प्रतिस्पर्धी थिए ।

पहिलो चरणमा २० राज्यका ९१ स्थान, दोस्रोमा १३ राज्यका ९७ स्थान, तेस्रोमा १४ राज्यका ११५ स्थान, चौथोमा ९ राज्यका ७१ स्थान, पाँचौंमा ७ राज्यका ५१ स्थान तथा छैटौं चरणमा ७ राज्यका ५९ स्थानमा मतदान भइसकेको थियो । मतगणना २३ मईका दिन प्रारम्भ हुनेछ । १७औं लोकसभा निर्वाचनको घोषणा मार्च १० मा भएको थियो । प्रतिपक्षी कांग्रेसले २ अप्रिलमा आफ्नो चुनावी घोषणापत्र जारी गरेको थियो भने सत्तारुढ भाजपाले ८ अप्रिलका दिन आफ्नो ‘संकल्प पत्र’का रूपमा आफ्नो घोषणापत्र जारी गरेको थियो । ५४३ मध्ये ५४२ स्थानका लागि मतदान प्रक्रिया पूरा भएको छ । तमिल्नाडुको भेल्लोर सिटका लागि मतदानमा ठूलो मात्रामा नगद भेटिएपछि रद्द गरी रोकिएको छ ।

कांग्रेसले आफ्नो चुनावी अभियान राहुल गान्धीको नेतृत्वमा चलायो । ¥यालीदेखि लिएर चुनावी विज्ञापनसम्ममा उनलाई पार्टीको नयाँ अनुहारका रूपमा प्रस्तुत ग¥यो । राहुल गान्धीले आफ्नो चुनावी अभियानको मुख्य रूपमा नरेन्द्र मोदीमाथि राफेलको वहानामा भ्रष्टाचारको मुद्दालाई बनाए, यसअतिरिक्त हरेक गरिबलाई वार्षिक ७२ हजार रुपैयाँ प्रदान गर्ने विषयलाई पनि उनले केन्द्रमा राखे । राहुल गान्धी कांग्रेस तथा भाजपाबीच सिधा प्रतिस्पर्धा हुने स्थानमा कन्द्रित भए ।
भाजपाको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदी नै अगाडि रहे । मोदीले गत डिसेम्बरदेखि नै एक प्रकारले चुनावी अभियान थालेका थिए, पुलावामा हमलाविरुद्ध पाकिस्तानमाथिको प्रहारपछि उनले झनै गतिलो विषय पाए । जम्माजम्मी गरेर उनले २ सयभन्दा बढी चुनावी ¥यालीमा सहभागिता जनाए । निर्वाचनमा भाजपाले राष्ट्रवादलाई सबैभन्दा ठूलो मुद्दा बनायो । पाँच वर्षमा गरिबका लागि ल्याएका योजनाका अतिरिक्त विपक्षी गठबन्धनमाथि कडा प्रहार पनि प्रचारका प्रमुख विषय रहे । मोदीले सबैभन्दा बढी प्रचार पश्चिम बंगाल र उत्तरप्रदेशमा गरे । निर्वाचनमा पश्चिम बंगालमा ममता बेनर्जी, उत्तर प्रदेशमा मायावती र अखिलेश यादव, अनि अरविन्द केजरीवाल पनि चर्चामा रहे ।

विश्वकै चासो रहेको भारतको निर्वाचनमा नेताहरूको हिलो छ्यापाछ्याप गरी अशोभनीय अभिव्यक्ति दिएका कुरा चर्चामा आए । भाजपाले मोदीको नामलाई अगाडि सारेको र कांग्रेसमाथि वंशवादको निरन्तरको प्रहारलाई चुनावी अभियानका विषय बनाइएको थियो । खासगरी गान्धी–नेहरू परिवारका सदस्यमाथि शाब्दिक आक्रमणका साथ मोदी र भाजपाका नेताहरूले स्वर्गीय राजीव गान्धीमाथि भ्रष्टाचार तथा जलसेनाको जलयानलाई पारिवारिक बिदा मनाउन प्रयोग गरेको आरोप लगाउन पनि बाँकी राखेनन् । स्मरणीय छ, मोदीले उठाएको भ्रष्टाचार प्रकरणमा स्वर्गीय गान्धीले सफाइ पाइसकेको विषय हो ।
अघिल्लो निर्वाचनमा भाजपाले अप्रत्याशित ठूलो विजय पाएको थियो । कांग्रेस र उसको गठबन्धन लगातार १० वर्षको सत्ता सञ्चालनपछि सत्तामा रहेकै अवस्थामा संसद्मा अत्यन्त कमजोर प्रतिनिधित्वका साथ सत्ताबाट बाहिरिन पुगेको थियो । त्यसपछिका निर्वाचनमा भाजपाले एकपछि अर्को विजय प्राप्त गर्दै गयो । तर, लोकसभा निर्वाचन नजिकिँदै गर्दा मध्यप्रदेश र राजस्थानसमेतका राज्यमा भएका विधानसभा निर्वाचनमा स्थिति फेरिई कांग्रेसले आफूलाई बलियो बनाएपछि भाजपा सम्भावित परिणामको अनुमानले आत्तियो । सोचेजस्तो परिणाम नआउने अनुमानका बीच निर्वाचनमा जानु परेपछि उसले कांग्रेसमाथि आक्रमणका लागि विभिन्न उपाय र विषय खोज्न थाल्यो ।

राहुल गान्धीको नेतृत्वमा केही अगाडि आउन थालेको कांग्रेस आएईलाई केही फरक ढंगले सञ्चालन गर्ने प्रयास गरे पनि प्रियंका गान्धीको राजनीतिमा औपचारिक प्रवेशले फेरि परिवारवादकै कुरा आएको छ । तर पनि यसले कांग्रेसमा नयाँ ऊर्जा थपिएको देखिन्छ । निर्वाचन अवधिभर राहुल र प्रियंकाको सक्रियता साँच्चिकै गजबको थियो । भाजपाका नोटबन्दी र वस्तु तथा सेवा करलगायतका विवादास्पद कदम, केन्द्रीय बैंकको गभर्नरको आकस्मिक परिवर्तन, सीबीआई विवाद, धार्मिक आस्थाको आधारमा भएका कतिपय निर्णय र चालिएका कदमलाई कांग्रेस आईले उठाएको थियो ।
भाजपा प्रचारमुखी बनी तल्लोस्तरमा ओर्लिएको देखियो भने राहुल, प्रियंका र कांग्रेसका जिम्मेवार नेताका अभिव्यक्ति त्यतिविधि अशोभनीय देखिएन । राहुलका ‘चौकिदार चोर हे’ जस्ता अभिव्यक्तिले उनलाई विवाद ल्यायो । भाजपा समर्थकले त राहुलको नागरिकतामाथि नै प्रश्न उठाए । भाजपाका अध्यक्ष अमित साह, प्रधानमन्त्री मोदी र अन्य नेताहरूले निकै अशोभनीय अभिव्यक्ति दिए । बौद्धिक मानिने र आक्रामक भाषण नगर्ने पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई समेत शाब्दिक आक्रमणको निशाना बनाइयो । उता पश्चिम बंगालमा मुख्यमन्त्री ममता बेनर्जी र मोदी तथा भाजपाबीचको द्वन्द्व पनि गजबै देखियो ।

निर्वाचनका क्रममा प्रतिस्पर्धीहरूबीच आरोप–प्रत्यारोप हुनु अस्वाभाविक नमानिए पनि भारतमा यसपालि अत्यन्तै तल्लो स्तरमा ओर्लेर व्यक्तिलक्षित अशोभनीय आक्रमण पनि भए । भारतीय राजनीतिबाट संकोच, स्वाभिमान, सम्मान र सौहाद्र्रता सकिएको त होइन भन्ने विश्लेषकको धारणा छ । पुराना कुरा खोतलियो कि ती अशोभनीय र अस्वाभाविक दुवै थिए । आरोप–प्रत्यारोप र हिलो छ्यापाछ्याप हेर्दा सायद यो अन्तिम निर्वाचन पो हो कि जस्तो पनि भान भयो । लोकतान्त्रिक प्रणालीमा निर्वाचन आउनेजाने भइरहन्छन् । यो त निरन्तर प्रक्रिया हो । अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने भनेकै संस्कार हो तर भारतीय राजनीतिमा यसपटक त्यस्तो संस्कारको भाव रह्यो । आरोप प्रत्यारोप, झुठा तथा काल्पनिक कुरा अघि सारियो । आफ्ना राम्रा कुराले प्रभावित पार्नेभन्दा पनि अरूको वा प्रतिस्पर्धीका नराम्रा र नकारात्मक कुराबाट आफूलाई अब्बल साबित गर्ने अस्वाभाविक प्रयास भयो । यसैले लोकतन्त्र अझै परिपक्व हुन नसकेको महसुस भयो ।

विविधतायुक्त विशाल मुलुकमा केही अस्वाभाविकता देखिनु अशोभनीय हुँदैनथ्यो तर यसपालिको निर्वाचनका क्रममा प्रशस्तै अस्वाभाविकता देखिए । यसले किसान, मजदुर र महिलालगायत केवल राजनीतिक हतियार बनेका र नेताहरू आफ्ना स्वार्थमा लिप्त रहेको महसुस भयो । चर्का स्वरमा बोलेर विरोधीलाई पछि पार्ने नियत मात्र देखियो । नेताहरू तल्ला स्तरका गालिगलौजमा उत्रिए । एक अर्काप्रति असहिष्णु देखिए । आगामी चुनौतीहरूको सामना कसरी गर्ने, जनतालाई कसरी सुख सुविधा प्रदान गर्ने र मुलुकलाई कसरी समृद्धिको दिशातर्फ अघि बढाउने भन्दा पनि कसरी निर्वाचनमा विजयी हुने भन्ने मात्र सोच र ध्येय नेताहरूमा देखियो । यो सत्तामुखी सोच हो र लोकतन्त्र जुन स्वअनुशासन र पारस्परिक मर्यादामा विश्वास गर्ने प्रणाली हो, त्यसमा यो प्रवृत्ति अत्यन्त घातक छ ।

लोकतन्त्रका मूल्य मान्यताप्रति सजग तथा प्रतिबद्ध हुनुपर्छ । यसो हुन सकेमा मात्र लोकतन्त्रको मर्मअनुरुप शासन सञ्चालन हुन सक्छ । सम्पन्न भारतीय निर्वाचनले दिएको सन्देश यही हो

अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने भनेकै संस्कार हो । तर, भारतीय चुनावी राजनीतिमा यसपटक त्यस्तो संस्कारको अभाव रह्यो । आरोप प्रत्यारोप गरियो । झुटा र काल्पनिक कुरा पनि अघि सारियो

ठूलो लोकतन्त्र भारतमा नै लोकतान्त्रिक संस्कारको अभाव देखियो भने हामीजस्तो भर्खर मात्र गणतन्त्रलाई संस्थागत गर्ने क्रममा रहेको मुलुकमा के अपेक्षा गर्नु ? जे बोले पनि भयो, जसो भने पनि भयो । तर, लोकतन्त्र भन्नु मर्यादा हो । सहअस्तित्व र पारस्परिक सम्मान हो । यो लोभ, आश वा त्रास होइन, स्वतन्त्रता हो, अधिकार र सँगसँगै कर्तव्यबोध पनि हो । यसमा इमानदारी आवश्यक हुन्छ भन्ने कुराको सन्देश भारतको सम्पन्न निर्वाचनले दिएको छ । हामीकहाँ पनि राजनीतिमा इमानदारी हराएको छ । लोकतन्त्रमा सधैं नै जनताको पक्षमा रहनुपर्छ, जनताका लागि काम गर्नुपर्छ, राष्ट्रको स्वाभिमान कायम राख्ने र प्रतिष्ठा अभिवृद्धि गर्दै जाने लक्ष्य रहनुपर्छ । विपक्षीलाई नसहने जुन प्रवृत्ति र चरित्र भारतमा भाजपाले देखायो सत्तामा रहँदा र सम्पन्न निर्वाचनका क्रममा त्यही अवस्था नेपालमा पनि छ । नेपालमा निर्वाचन आउन त अझै साढे तीन वर्ष बाँकी छ तर जुन तरिकाले एक प्रकारले भन्नुपर्दा मोदी शैलीको सिको गर्दै नेकपाले प्रतिपक्षीप्रति असहष्णिु हुँदै बलमीचाई गर्दै अघि बढ्न खोजेको छ, त्यसलाई हेर्दा भावी दिनहरू हाम्रा पनि सहज हुने सम्भावना छैन ।

अन्त्यमा, अगुवाहरू नै तथानाम अशोभनीय अभिव्यक्ति दिन थालेपछि पछाडि लाग्नेहरूले पछ्याइ हाल्छन् । यसले राजनीतिलाई दूषित बनाउँछ । राजनीतिमा सहिष्णुता र जिम्मवारीबोध चाहिन्छ । प्रतिशोधको भावना र जिद्धीले राजनीतिलाई सही दिशातर्फ डो¥याउँदैन । सहमति र सहकार्यका लागि वातावरण बन्दैन । प्रतिपक्षी चाहे जतिसुकै कमजोर किन नहोस् ऊसँग छलफल, सहमति र सहकार्यको वातावरण बन्नुपर्छ । अन्यथा, त्यसले बाधा पु¥याउँछ । हामीकहाँ पनि जिम्मेवार नेताहरूले अशोभनीय अभिव्यक्ति दिने प्रवृत्ति बढेको छ ।
हाम्रा प्रधानमन्त्रीको बोली संसद्मै विवादमा परेको छ । उनीसमेतले संसद्मा बोलेका ‘असंसदीय शब्द’हरूलाई रेकर्डबाट हटाउन सभामुखबाट आदेश भएको छ । यस सन्दर्भमा जतिसुकै प्रतिस्पर्धा भए पनि, जस्तोसुकै आक्रोस उत्पन्न भए पनि अभिव्यक्तिप्रति सजग रहनैपर्छ भन्ने कुरा आफूलाई लोकतन्त्रवादी भन्ने नेताहरूले बुझ्नुपर्छ । सहनशीलता, सहिष्णुता र धैर्य लोकतन्त्रमा नेताहरूमा हुनुपर्ने गुण हो भन्ने कुरा सबैले बुझ्नुपर्छ । लोकतन्त्रका मूल्य मान्यताप्रति सजग तथा प्रतिबद्ध हुनुपर्छ । यसो हुन सकेमा मात्र लोकतन्त्रको मर्मअनुरूप शासन सञ्चालन हुन सक्छ । सम्पन्न भारतीय निर्वाचनले दिएको सन्देश यही नै हो ।

जहाँसम्म निर्वाचन परिणाम र भावी सरकारको कुरा हो, भारतको आप्mनै विदेश नीति भएको र हामीकहाँ जस्तो राजनीतिक नेतृत्वको अस्थिर तथा ढुलमुले चरित्र नभएकाले भारतमा जुनसुकै दलको सरकार गठन भए पनि नेपाललाई त्यसले खासै फरक पार्दैन, उसको नेपाल नीतिमा कुनै फरक पर्दैन । स्मरणीय छ, सातौं चरणको मतदान सम्पन्न भएलगत्तैको ‘एक्जिट पोल’ले भाजपाले ३ सय बढी स्थानमा विजय हासिल गरी सरकार गठन गर्ने देखाएको छ तर हाम्रासामु दुई दिनअघि मात्र अस्ट्रेलियामा सम्पन्न निर्वाचनमा ‘एक्जिट पोल’ले हावा खाएको उदाहरण पनि छ ।

तपाईको प्रतिक्रिया