भारतमा एक्सद्वारा ८ हजार खाताहरू बन्द गरेको छ

सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पूर्व ट्विटर) ले भारतमा करिब आठ हजार खाताहरू बन्द गरेको जनाएको छ। कश्मीरमा अप्रिल २२ मा भएको आक्रमणमा २६ पर्यटकको ज्यान गएपछि भारत–पाकिस्तानबीच तनाव बढेको पृष्ठभूमिमा भारत सरकारले एक्सलाई ती खाता बन्द गर्न अनुरोध गरेको बीबीसीले जनाएको छ।

एक्सले बन्द गरेका खाताहरूमा पाकिस्तानी टेलिभिजन च्यानल डनजियो टिभी का साथै थुप्रै पाकिस्तानी पत्रकारहरूको खाता परेका छन्। एक्सले सार्वजनिक रूपमा जानकारी दिँदै भनेको छ, “हामी भारत सरकारको आदेश पालना गर्दै ती खाता भारतमै मात्र रोक्ने प्रक्रिया अघि बढाइरहेका छौँ, तर उक्त आदेशप्रति हाम्रो असहमति छ।”

एक्सका अनुसार ती खाता रोक्ने निर्णय सजिलो नभए पनि भारतमा सेवा निरन्तर उपलब्ध गराउन बाध्य भएर आदेश पालना गरिएको हो। कम्पनीले भारत सरकारको निर्देशनलाई आवश्यकभन्दा बढी हस्तक्षेपपूर्ण र सेन्सरसिपजस्तो व्यवहारको संज्ञा दिएको छ।

एलन मस्कको स्वामित्वमा रहेको यो सञ्जालले आफूले सम्भाव्य कानुनी विकल्पहरू खोजिरहेको समेत जनाएको छ। यसअघि पनि एक्सले भारत सरकारविरुद्ध कानुनी चुनौती दिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले सामाजिक सञ्जालमा सामग्री नियन्त्रण गर्न कानुनको दुरुपयोग गरिरहेको आरोप लगाउँदै मुद्दा दायर गरिएको थियो।

यहीबीच, भारत सरकारप्रति आलोचनात्मक सामग्री प्रकाशित गर्ने द वायर वेबसाइटले पनि आफूहरूको पोर्टल इन्टरनेट सेवा प्रदायकमार्फत बन्द गरिएको दाबी गर्दै यसलाई “खुला सेन्सरसिप” भनेको छ। उक्त कार्य भारतको सूचना प्रविधि मन्त्रालयको निर्देशनमा भएको द वायर को भनाइ छ।

तपाईको प्रतिक्रिया