भारतबाट अब दिनहुँ १५ घण्टा विद्युत् आयात, प्राधिकरणद्वारा औद्योगिक क्षेत्रलाई प्राथमिकता

काठमाडौँ — भारतबाट नेपालले अब दैनिक १५ घण्टा विद्युत् आयात गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले शुक्रबारदेखि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म (सोलार आवर) र राति २ बजेदेखि बिहान ६ बजेसम्म विद्युत् आयात हुने जानकारी दिएको छ।

भारतले ढल्केबर–मुजफ्फरपुर ४ सय केभी प्रसारण लाइनमार्फत नेपाललाई दिनहुँ ६ सय मेगावाट विद्युत् आयात गर्ने अनुमति दिएको हो। यसअघि चैत १५ यता नेपालले बिहान ६ देखि साँझ ५ र राति ११ देखि बिहान ४ बजेसम्म गरी १६ घण्टा विद्युत् आयात गर्दै आएको थियो।

अब एक घण्टा कम हुँदै १५ घण्टा मात्रै आयात गर्न पाइने व्यवस्था गरिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भारतलाई आगामी जुनसम्म विद्युत् आपूर्ति निरन्तरता दिएकोमा धन्यवाद दिएका छन्। उनले भने, ‘हामीलाई अभाव हुने समय हो— मे र जुन। त्यस अवधिका लागि भारतले सहयोग जारी राख्नु सकारात्मक हो।’

शाक्यका अनुसार देशका नदीनालाहरूमा पानीको बहाव बढ्दै गएको छ र आन्तरिक विद्युत् उत्पादनमा पनि क्रमशः वृद्धि भइरहेको छ। यसले औद्योगिक क्षेत्रमा देखिएको विद्युत् कटौती क्रमशः घट्दै जाने अपेक्षा गरिएको छ।

टनकपुर–महेन्द्रनगर प्रसारण लाइनमार्फत अहिले ५४ मेगावाट विद्युत् आयात भइरहेको छ। यसअघि भारतले चैत २ गतेसम्म दिनको २० घण्टा आयातको अनुमति दिएको थियो। हाल सोलार आवरमा मात्रै विद्युत् आयात गर्न पाइन्छ।

नेपालले भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईईएक्स) मार्फत प्रतिस्पर्धात्मक प्रक्रिया अनुसार ‘डे–अहेड’ र ‘रियल टाइम’ बजारबाट विद्युत् खरिद गर्दै आएको छ। यस प्रक्रिया अन्तर्गत अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ गर्नुपर्ने व्यवस्था छ।

नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीईसी) को अनुमति अनुसार हाल ३५० मेगावाटसम्म आयात गर्न सकिने भए पनि, हाल २०० मेगावाट मात्र आयात भइरहेको प्राधिकरणले जनाएको छ। शाक्यले भारतमा बढ्दो तापक्रम, आईपीएल प्रतियोगिता र बिहारमा चुनावका कारण आन्तरिक माग उच्च भएकाले सीमित मात्रामा आपूर्ति भइरहेको बताएका छन्।

प्राधिकरणले औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नियमित र भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न काम गरिरहेको जनाएको छ। आन्तरिक उत्पादनले माग धान्न नसकेको अवस्थामा अधिकतम मूल्यमा भए पनि भारतबाट आयात गरिने प्राधिकरणको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘औद्योगिक क्षेत्रको माग अनुसार आपूर्ति नपुगेको अवस्थामा भारतबाट आवश्यक मात्रामा विद्युत् आयात गरेर समस्याको समाधान गरिनेछ।’

तपाईको प्रतिक्रिया