भारतका पूर्वकप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

काठमाडौँ — भारतका पूर्वकप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। बुधबार साँझ ७ः३० बजे सामाजिक सञ्जालमार्फत उनले टेस्ट क्रिकेटबाट औपचारिक रूपमा विदा लिएको घोषणा गरे।

एकदिवसीय र टी–२० क्रिकेटमा सफल कप्तान र खेलाडीको रूपमा चिनिएका रोहितले रातो बलको क्रिकेटमा भने त्यस्तो निरन्तरता कायम राख्न सकेनन्।

करिब ११ वर्षको टेस्ट करियरमा उनले ६७ टेस्ट खेल्दै १२ शतकसहित ४३०१ रन बनाएका छन्। कप्तानका रूपमा उनको नेतृत्वमा भारतले ५० प्रतिशत टेस्ट जितेको भए पनि केही ऐतिहासिक हारको कारण उनको कप्तानी आलोचित पनि रह्यो।

विशेषतः, उनको कप्तानीमै भारतले घरेलु मैदानमा पहिलोपटक न्यूजिल्याण्डसँग टेस्ट हार बेहोरेको थियो। त्यस्तै, अष्ट्रेलियासँगको दशक लामो शृंखला जित्ने यात्रा पनि रोहितकै नेतृत्वमा टुटेको थियो, जसका कारण भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न असफल भयो।

सन्न्यासअघि रोहितलाई कप्तानीबाट हटाइने अड्कलबाजी भइरहेका बेला आएको यो घोषणा भारतीय क्रिकेटमा भावनात्मक मोडको रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया