पूर्वराष्ट्रपति भण्डारीले पार्टी एकता विथोल्ने काम गरिरहनुभएको छ:प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो राजनीतिक गतिविधि एमाले विरुद्ध केन्द्रित रहेको टिप्पणी गरेका छन्।

शुक्रबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले भण्डारीको एमाले सदस्यता नरहेको स्पष्ट गर्दै, उनी पार्टीलाई कमजोर बनाउने उद्देश्यले असन्तुष्ट समूहहरूलाई संगठित गर्दै हिँडेको आरोप लगाए।

“राष्ट्रपति बनेपछि उहाँले पार्टी सदस्यता परित्याग गर्नुभएको हो। अहिले केहीले भन्न थालेका छन् कि उहाँको सदस्यता खोसियो भन्ने। तर, सदस्यता त्याग गरिसकेपछि रसिद काटेर वा कर्मचारीलाई झुक्याएर सदस्यता कायम हुँदैन,” ओलीले भने।

ओलीका अनुसार पूर्वराष्ट्रपतिले पार्टीमा सदस्यता नवीकरण गर्ने वा पुनः सदस्यता लिनेसम्बन्धी कुनै औपचारिक प्रक्रिया थालेकी छैनन्। उल्टै, उनी पार्टीभित्र असन्तुष्टहरू र केही पराजित जनसंगठनहरूलाई एकत्रित गर्दै पार्टी एकतामा बाधा पुर्‍याइरहेको आरोप ओलीले लगाए।

भण्डारीले राष्ट्रपतिको पद सम्हाल्नु अघि पार्टी सदस्यता छाडेकाले पुनः नवीकरण हुन नसक्ने ओलीको भनाइ छ। उनले भनिन्, “छाडिएको सदस्यता फेरि नवीकरण हुने कुरै हुँदैन, नयाँ सदस्यता लिन पनि कुनै निवेदन दिइएको छैन।”

ओलीले मदन भण्डारीको जन्मजयन्ती भन्दा एक वर्षपछिको मिति पारेर कार्यालय खोलिएको प्रति पनि असन्तोष जनाए।

तपाईको प्रतिक्रिया