बैंकिङ प्रणालीमा तरलता घटाउन राष्ट्र बैंकले ६० अर्ब निक्षेप खिच्दै

काठमाडौं — राष्ट्र बैंकले बुधबार बोलकबोल प्रक्रियामार्फत ६० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि चालु आर्थिक वर्षको सुरुवातदेखि नै राष्ट्र बैंकले निरन्तर तरलता सङ्कलन गरिरहेको छ।

बैंकले जानकारी दिएको अनुसार, आज हुने बोलकबोलबाट संकलित निक्षेपको सावाँ र ब्याज २०८२ भदौ १८ गते भुक्तानी गरिनेछ।

वर्तमानमा कुल निक्षेप ७० खर्ब ५८ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। निक्षेप वृद्धिसँगै ब्याजदर सन्तुलन गर्न तथा मौद्रिक नीतिको प्रभावकारीता कायम राख्न राष्ट्र बैंकले अनलाइन खरिद प्रणालीमार्फत यो कदम चालेको हो।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सकिनेछ। कुल आह्वान रकम सकिएपछि बाँकी बोलहरू अस्वीकार गरिनेछ।

यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्।

सामान्यतः २१ दिनको अवधिका लागि निक्षेप सङ्कलन गरिने भए पनि पछिल्लो समय राष्ट्र बैंकले दीर्घकालीन अवधिका लागि समेत तरलता खिच्न थालेको छ, जसले मौद्रिक नीतिको दीगो प्रभावकारिता सुनिश्चित गर्ने उद्देश्य बोकेको छ।

तपाईको प्रतिक्रिया