बैंकर र व्यवसायी छुट्याउने हो भने तीन वर्षको कुलिङ पिरियड अनिवार्य गरौं : सांसद गौतम

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बैंकर र व्यवसायीबीचको सम्बन्ध स्पष्ट पार्न तीन वर्षको अनिवार्य कुलिङ पिरियड राख्नुपर्ने सुझाव दिएकी छन्।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक माथि भएको छलफलमा बोल्दै सांसद गौतमले राज्यले कुनै पनि कानुनी व्यवस्था गर्दा उद्योग–व्यवसायीको सम्पत्तिमा क्षति नहोस् भन्ने व्यवहारिक पक्षलाई ख्याल गर्नुपर्ने धारणा राखिन्।

“सबैको चासो अहिले बैंकर र व्यवसायी छुट्याउने विषयमा केन्द्रित देखिन्छ,” उनले भनिन्, “यदि छुट्याउने हो भने कम्तीमा तीन वर्षको समय दिनुपर्छ, जसले गर्दा उद्योगी–व्यवसायीहरूले आफ्नो सम्पत्ति व्यवस्थापन गर्ने अवसर पाउन्।”

सांसद गौतमका अनुसार, बैंकर र व्यवसायीको भूमिका छुट्याउँदा सम्भावित स्वार्थको द्वन्द्व अन्त्य हुने आशा गर्न सकिन्छ।

अर्थसमितिमा विधेयकमाथिको छलफल जारी रहेको छ, जसले नेपालको बैंकिङ क्षेत्र र नियमन प्रणालीमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया