बिहीबार राति दार्चुला नजिक ४.१ म्याग्निच्युडको भूकम्पको धक्का

काठमाडौँ । नेपालको सुदूरपश्चिम क्षेत्रमा पर्ने दार्चुला नजिक बिहीबार राति भूकम्पको हल्का धक्का महसुस गरिएको छ।
भूकम्प मापन केन्द्र (एनईएमआरसी–भूगर्भ विभाग)का अनुसार बिहीबार राति करिब १० बजेर ४० मिनेट जाँदा दार्चुला जिल्लाको तवाघाट नजिक भारत सीमा क्षेत्रमा केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको कम्पन दार्चुला तथा आसपासका क्षेत्रमा हल्का रूपमा महसुस गरिएको विभागले जनाएको छ। यद्यपि, हालसम्म कुनै पनि मानवीय क्षति वा भौतिक नोक्सानीको विवरण प्राप्त भएको छैन।

भूगर्भ विभागका अनुसार सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पछिल्ला वर्षहरूमा साना–ठूला भूकम्पका झट्का दोहोरिइरहेका छन्। विभागले नागरिकलाई सचेत रहन र आधिकारिक जानकारीका लागि विभागका सूचनाहरू अनुसरण गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया