बाल मन्दिरको प्रकरणमा रीता सिंहसहित १७ जना माथि ठगी मुद्दा, ६० करोड भन्दा बढी बिगो माग

काठमाडौं — नक्सालस्थित नेपाल बाल मन्दिरको जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले स्वर्गीय गणेशमान सिंहकी छोरी रीता सिंहसहित १७ जनामाथि बुधबार ठगीको अभियोगमा मुद्दा दायर गरेको हो। उनीहरूमाथि नेपाल बाल संगठनलाई ठगीमार्फत हानि पुर्‍याएको आरोपमा मुद्दा अघि बढाइएको हो।

अभियोगितहरूमध्ये तत्कालीन उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठ, महासचिव श्यामकुमार आले, महासचिव सुवास कुमार पोखरेल, महासचिव प्रचण्डराज प्रधान, महासचिव रामकाजी गुरुङ, उपाध्यक्ष योगेन्द्रबहादुर शाही, उपकोषाध्यक्ष दिपकदास श्रेष्ठ, स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णशंकर साह लगायत छन्।

यसैगरी, बृहस्पति विद्यालय व्यवस्थापन प्रालिका सञ्चालक प्रविणराज जोशी, मुरारी निधि तिवारी, पुरुषोत्तम राज जोशी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेयसमेत मुद्दामा प्रतिवादी बनाइएको छ। अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेय भारतीय नागरिक हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले तयार पारेको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो। प्रतिवेदनअनुसार प्रतिवादीहरूले ठगीमार्फत नेपाल बाल संगठनलाई ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बराबरको आर्थिक हानि पुर्‍याएका छन्।

उनीहरूमाथि तत्कालीन मुलुकी ऐनअन्तर्गत ठगी महलको दफा १ र ४, र हाल लागू मुलुकी अपराध संहिता २०७४ को दफा २४९(१) र (२) तथा दफा २५४ अनुसार कारबाही गर्न माग गरिएको छ। प्रतिवेदनमा ठगीबाट पीडित नेपाल बाल संगठनलाई क्षतिपूर्ति दिलाउन मागदाबी गरिएको उल्लेख छ

तपाईको प्रतिक्रिया